हनुमानसहित यि हुन् भगवान शिवका १९ मध्ये १० अवतार

हनुमानसहित यि हुन् भगवान शिवका १९ मध्ये १० अवतार
सोमवार, साउन ४, २०७८

काठमाडौं – हिन्दु धार्मीक मान्यता अनुसार धर्तीमा बढ्दो पाप नष्ट गर्न भगवान विष्णुले १० पटकसम्म अवतार लिए । मत्स्य अवतारदेखि कल्की अवतारसम्म विष्णुले लिएको १० अवतारबारे अधिकांशलाई थाहा छ । तर धेरैलाई विष्णुले जस्तै भगवान शिवले पनि अवतार लिएको बारे थाहा छैन ।

धर्तीमा बढ्दो पाप समाप्त गर्न भगवान शिवले समेत पटक पटक कैयौं अवतार लिएका थिए । शिव पुराण अनुसार शिवले १९ अवतार लिएका थिए । तर धेरैलाई यसबारे थाहा छैन । भगवान शिवको हरेक अवतारको आआफ्नै रहस्य र कारण छ । आज ति मध्ये १० अवतारको बारेमा चर्चा गरौं ।

भगवान शिवको पहिलो अवतार हो, वीरभद्र अवतार । पुराण अनुसार भगवान शिवको वीरभद्र अवतार, दक्ष प्रजापतीको यज्ञमा माता सतीद्वारा देह त्याग गरेपछि भएको थियो । उनले जब आफ्नी पत्नी सतीले देह त्याग गरेको थाहा पाए क्रोधमा शिरको जटाबाट महाभंयकर वीरभद्र प्रकट गरे । शिवको यस अवतारले दक्षको यज्ञ विध्वंस गर्नुका साथै दक्षको शिर काटेका थिए ।

भगवान शिवको अर्काे अवतार हो, पिप्पलाद अवतार । शनिग्रहको दृष्टिका कारण आफ्नो पिताले जन्म पूर्व नै आफूलाई छाडेको थाहा पाएपछि क्रोधमा आएर पिप्पलाद अवतारले शनि नक्षत्र मण्डलबाट खस्ने श्राप दिए । पछि पिप्लादले शनिलाई क्षमा गरेका थिए । पिप्पलाद अवतारको स्मरण गर्दामा मात्र शनिको पीडा नष्ट हुने धार्मीक विश्वास छ ।

भगवान शिव सबै जीवको प्रतिनिधित्व गर्दै नन्दी अवतारमा समेत प्रकट भएका थिए । उनको यो अवतारले सबै जीवमा प्रेमका सन्देश दिने गर्दछ । नन्दी अर्थात साढे कर्मको प्रतीक मानिन्छ ।

भैरवलाई पनि भगवान शंकरको पूर्ण रूप मानिन्छ । ब्रह्माको पाचौ शिर काटे पश्चात प्रकट भएका भैरवलाई ब्रह्म हत्याको पापको दोष लागेको थियो । तब काशीमा भैरवलाई ब्रह्म हत्याको पापबाट मुक्ति मिलेको थियो । त्यसैले काशिका मानिस भैरवको भक्ति गर्दछन् ।

शिवको अश्वत्थामा अवतार पनि छ । महाभारत कालमा गुरु द्रोणाचार्यका पुत्र अश्वत्थामा भगवान शंकरको अंश अवतार हुन् । शिवलाई पुत्रको रूपमा पाउन द्रोणाचार्यले घोर तपस्या गरेका थिए । मान्यता अनुसार अश्वत्थामा अमर छन् ।

भगवान शंकरको छैठौ अवतार हो, शरभ अवतार । भगवान विष्णुको नृसिंह अवतारको क्रोधलाई शान्त गर्न यो अवतार भएको थियो । लिंग पुराण अनुसार, हिरण्यकश्यपको वध गरेपछि भगवान विष्णुको नृसिंह अवतार क्रोध शान्त भएन तब शिवले शरभको रूप धारण गरेका थिए । तर नृसिंहको क्रोध शान्त नभएपछि शरभ रूपी भगवान शिवले आफ्नो पुच्छरमा नृसिंहलाई बाँधेर उडे । तब मात्र भगवान नृसिंहको क्रोघ शान्त भएको थियो ।

यस्तै, भगवान शंकरको सातौ अवतार हो, गृहपति । विश्वानर नामक मुनि र उनकी पत्नी शुचिष्मतीको इच्छा थियो, उनीहरुको पुत्र शिव समान हुन् । यसैकालागि उनिहरुले घोर तपस्या गरे । उनीहरुको पूजा, भक्ति र तपस्याबाट प्रसन्न भएर भगवान शंकरले शुचिष्मतिको गर्भबाट पुत्रको रूपमा जन्म लिए जसका नाम ब्रह्माजीले गृहपति राखे ।

भगवान शंकरको अर्काे अवतार हो, ऋषि दुर्वासा । दुर्वासा ऋषि अत्यन्त क्रोधी थिए । उनले देवराज इन्द्रलाई श्राप दिएका थिए । जसका कारण समुद्र मन्थन गर्नु परेको थियो । यस अलावा भगवान श्रीरामका भाइ लक्ष्मणको मृत्युका कारण पनि दुर्वासा ऋषि नै थिए ।

यस्तै भगवान शंकरको अर्काे अवतार हो, वृषभ अवतार । भगवान शंकरले विष्णुको पुत्रको संहार गरेका थिए । धर्म ग्रन्थ अनुसार जब भगवान विष्णु दैत्यलाई मार्न पाताल लोक गए तब उनका कैयौं पुत्र उत्पन्न भए । जसले पातालदेखि पृथ्वीसम्म उपद्रव मच्चाएका थिए । जसबाट भयभित बनेका ब्रह्माजी शिव समक्ष पुगि रक्षा गर्न प्रार्थना गरे तब भगवान शंकरले वृषभ रूप धारण गरेर विष्णु पुत्रको संहार गरेका थिए ।

भगवान शिवको हनुमान अवतार बारे धेरैलाई थाहा छ । शिवको यो अवतार श्रेष्ठ मानिन्छ । यस अवतारमा शंकर भगवानले बादँरको रुप धारण गरेका थिए । जब भगवान विष्णुले श्रीरामको अवतार लिएका थिए तब आफ्नो प्रभुको सेवा र सहायताकालागि भगवान शिवले माता अंजनीको गर्भबाट महाबलशाली हनुमानजीको अवतार लिएका थिए ।