जोडिनुहोस
  • होमपेज
  • प्रचण्ड-ओलीबीच बालुवाटारमा ‘निर्णायक’ छलफल

प्रचण्ड-ओलीबीच बालुवाटारमा ‘निर्णायक’ छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटघाट भएको छ । राष्ट्रपतिको विषयमा निर्णायक छलफल गर्नका लागि ओली बालुवाटारमा पुगेका हुन् ।

पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले-माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा बसेका छन् ।

यसअघि बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ४ दलको बैठकले चुनावअघिको गठबन्धन ब्यूँताउने सहमति गरेको थियो । तर, एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पुस १० गते गरेको सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आइरहेको छ ।

प्रचण्ड कांग्रेस नेतृत्वको पुरानै गठबन्धनको पक्षमा उभिएपछि ओली निर्णायक छलफलका लागि बालुवाटार पुुगेका हुन् । बालुवाटार हिँड्नुअघि ओलीले अन्य दलको बैठकबारे अनभिज्ञता जनाउँदै पूर्वसहमति अनुसार एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताए ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा ओलीले भने, ‘राष्ट्रपतिमा भोलि एमालेले मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का छ । अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’

प्रचण्डले पूर्वसहमति अनुसार एमालेलाई राष्ट्रपति नदिने देखेपछि ओलीले नेकपा एसका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए । अहिले पनि पुरानो गठबन्धनमा पनि नेता नेपाल र कांग्रेसको दाबी परेको छ ।

एमालेबाहेक पुरानो गठबन्धनबाट राष्ट्रपतिमा साझा उम्मेदवार अघि सार्न ठोस निर्णयका लागि ५ बजे पुरानो गठबन्धनको बैठक बोलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका