Mon Aug 8 2022
अन्तर्राष्ट्रिय

माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा साइबर हमला चीनले गराएको आरोप

एजेन्सी– पश्चिमा सहयोगी गठबन्धनले साइबर हमलाका घटनामा चीन दोषी रहेको भन्दै निन्दा गरेका छन् । यसै वर्षको सुरुवातमा भएका साइबर हमलामा चीन दोषी रहेको भन्दै उनीहरुले निन्दा गरेका हुन् ।

यो हमला माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा भएको दाबी गरिएको छ । जसका कारण विश्वको कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएको बताइन्छ ।

आर्थिक लाभका लागि चीनले साइबर ह्याकरहरुको पक्षपोषण गरिरहेको समेतउनीहरुले आरोप लगाएका छन् । नेटो र इयूले पनि चिनियाँ ह्याकरहरुका गतिविधिको भर्त्सना गर्दै विज्ञप्ति जारी गरेका छन् ।

अमेरिका, बेलायत लगायतका पश्चिमा गठबन्धनले चीनले यस्ता गतिविधि नरोके कडा मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् ।

बेलायतले यस हमलाको लागि चीन सरकारद्वारा समर्थन गरिएका पक्ष जिम्मेवार भएको बताएको छ । त्यस्तै युरोपिय संघले चीनको क्षेत्रबाट यो साइबर हमला गरिएको दाबी गरिएको छ ।

तर चीनले भने आफूमाथि लागेको साइबर हमलाको विगतमा अस्वीकार गर्दै आएको छ । बेलायतका विदेशमन्त्री डोमिनिक रावले चीनको समर्थित समुहद्वारा माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा हमला गरिएको भन्दै यो दुस्साहसपूर्ण काम भएको बताए ।

त्यस्तै युरोपेली संघले यस हमलाबाट युरोपीय संघको सरकारी र निजी संस्थालाई आर्थिक नोक्सान भएको बताएको छ । संघले साइबर हमला गर्नेहरु चीनको स्टेट सेक्युरिटी मन्त्रालयसँग सम्बन्धित समुहहरु रहेको बताएको छ ।

त्यस्तै अमेरिकाले चीनले इन्टेलिजेन्स इन्टरप्राइजेज निर्माण गरेको भन्दै यसमा ह्याकरको समुह समेत सामेल रहेको बताएको छ । अमेरिकाले यस घटनाप्रति चिन्ता व्यक्त गर्दै यसलाई रोक्नुपर्ने बताएको छ ।