जोडिनुहोस
  • होमपेज
  • आठ दलीय गठबन्धन नै छैन : अध्यक्ष ओली

आठ दलीय गठबन्धन नै छैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी गरेका छन् । अध्यक्ष ओलीले एमालेको तर्फबाट सुवाष नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् । आठ दलहरूबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको पनि अध्यक्ष ओलीको जिकीर थियो । सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने उनको दाबी छ ।

नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको पनि उनले बताए । ‘हामीले हाम्रो पार्टीको तर्फबाट र खासगरी नेपाली जनताकै तर्फबाट देशभक्त, लोकतान्त्रिक, सुशासन र विकासका पक्षधर शक्तिहरुको तर्फबाट अत्यन्तै अनुभवी, कानुनविद्, लामो समय सभामुख जस्तो गरिमामय पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु भएका, संविधान निर्माणका संविधानसभा अध्यक्षको हैसियतले महत्वपूर्ण भूमिका पूरा गर्नु भएका सफल राजनीतिज्ञको रुपमा परिचित माननीय सुवाषचन्द्र नेम्वाङजीलाई आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको रुपमा उठाएका छौं । र, विधिपूर्वक हामीले यो उम्मेदवार उठाएका छौं,’ अध्यक्ष ओलीले भने ।

यस्तै आफूहरूले दलीय स्वार्थ नभएर राष्ट्रिय स्वार्थका लागि नेम्वाङलाई उम्मेदवार बनाएको पनि उनको भनाइ थियो । यसका लागि समग्र नेपाली जनता र सबै तर्फबाट सहयोग पाउने उनले विश्वास व्यक्त गरे ।

यस्तै पुस १० गतेको सहमतिमा अन्य दलले पनि प्रतिबद्धता जनाउने उनले विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आफ्ना प्रतिबद्धताबाट, आफ्ना बचनवद्धताबाट, आफूले सार्वजनिक गरेका विषयहरुबाट कोही पनि पछि हट्ने खालको काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ । कुनै चिजको पनि एक सर्कल पूरा नगरिकन एउटा जुन प्रतिबद्धता छ, जुन सहमति छ । र, जुन सम्झौता हामीले गरेका छौं । त्यो पूरा नभई यताउता हुन्छ भन्ने कुरा विश्वास छैन । गठबन्धनको कुनै निर्णय छैन । आठ दलीय गठबन्धन पनि छैन । गठबन्धनका निर्णय पनि छैन । हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दलका साथीहरुलाई बोलाइएको थियो । उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्छ ।’

अध्यक्ष ओलीले नेम्वाङलाई राष्ट्रपति पदमा विजयी गराउनका लागि सिंगै नेपाली जनताको, मिडिया क्षेत्रको पनि साथ रहने जिकिर गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका