जोडिनुहोस
  • होमपेज
  • आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री

आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन् । शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित “समसामयिक नेपाली राजनीति र निधिजीको विचार” विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताए ।

विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “हिजो संसद्का आठ दलबीच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ । त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो । संसद्को सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ । दोस्रो ठूलो दलको सभामुख र राष्ट्रियसभाको अध्यक्ष छ । तेस्रो दलको प्रधानमन्त्री छ । संसद्का अरू दलहरूबीच पनि समझदारीका साथ अगाडि बढेका छौँ । यो प्रक्रियाबाट हामी कोही पनि बाहिर छैनौँ । यो एकप्रकारले राष्ट्रिय सहमति नै हो ।”

“नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र संकटमुक्त छैन । लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा टरिसकेको छैन,” प्रधानमन्त्रीले भने, “फागुन ७ गते संविधानले नचिनेका नारा लागे । त्यो गम्भीर कुरा छ । हिजो जसरी संसद् विघटन गरियो, संविधानमाथि आक्रमण गरियो, त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन । त्यसैले पनि लोकतान्त्रिक मूल्य मान्यता र संविधानका पक्षधर शक्तिहरू एकठाउँ उभिनुपर्छ, उभिएका छौँ ।”

“मैले राष्ट्रिय सहमतिकै लागि कोसिस गरेँ । हिजो एमाले अध्यक्ष केपी ओलीजीसँग पनि तपाईँ र म मिलेर राष्ट्रिय सहमतिको राष्ट्रपति प्रस्ताव गरौँ भनेँ, तर सम्भव भएन,” प्रधानमन्त्रीले भने, “संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिहरूसँगको सहकार्य सहज हुँदैन । यही निष्कर्षका साथ फेरि हामी एकठाउँ उभिएका छौँ । हामी प्राकृतिक कोर्समा फर्किएका छौँ । यो नै मुख्य कुरा हो ।”

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शरदसिंह भण्डारी, विमलेन्द्र निधिलगायतले महेन्द्रनारायण निधिको योगदानबारे चर्चा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका