कोरोना कहरले साउनमा हरियो चुरा र पोतेको ब्यापारमा कमि

कोरोना कहरले साउनमा हरियो चुरा र पोतेको ब्यापारमा कमि
बुधबार, साउन ६, २०७८

साउनलाई हरियो चुरापोते र मेहन्दीको महीनामा रुपमा बुझ्ने गरिन्छ । कोरोना भाइरस महामारी अघि साउनमा महिला दिदीबहिनीहरु हरियो चुरापोते र मेहन्दी किन्न पसलमा लामबद्ध भएको देखिन्थ्यो । तर कोरोना कहरले महिलाको सिँगारिने रहर खोसेको छ ।

यसैले अहिले सौन्दर्यसामग्री पसल प्रायः खाली देखिन्छन् । जसले व्यवसायीलाई निराश बनाएको छ । साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो ।

साउनभर माछामासु, लसुनप्याज नखाइ व्रत बस्ने चलन छ । विशेषगरी महिलालाई साउन झनै रमाइलो र रोचक हुने गरेको छ । साउनमा लगाइने हरियो चुरा र पहिरनको प्राकृतिक तथा सांस्कृतिक महत्व छ । यो वर्ष कोरोना कहरले हरियो चुरो, मेहन्दीको कारोबार घटेपनि महत्व घटेको छैन । दिदीबहिनीहरुले पुरानै बस्त्रलगाउँदा व्यापार व्यवसाय भने घटेको छ ।

अघिल्ला वर्षमा भारत, चीन, थाइल्यान्डलगायतका देशबाट चुरापोते र मेहन्दी आयात हुने गथ्र्यो । यसपाली भने गतवर्षदेखिको स्टकलाई नै बेचेको व्यवसायीको भनाइ छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी निषेधाज्ञा केही खुकुलो भएपनि उपभोग्य सामग्री आयातमा समस्या परेको तथा ग्राहक पनि कममात्र आएको व्यवसायीको गुनासो छ ।

हरियो चुरापोते र मेहन्दीले सजिएका दिदीबहिनीको भीड रहने बजार पसल यसपाली कोरोना कहरले सुनसान झै बनाएको छ । यो विषय परिस्थितिमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै आफ्नो मौलिक संस्कृतिको रक्षा गर्दै अघि बढ्नु अहिलेको आवश्यकता हो ।