पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा २०८ जना पत्रकारले लगाए दोस्रो डोज खोप

पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा २०८ जना पत्रकारले लगाए दोस्रो डोज खोप
बिहिबार, साउन ७, २०७८

काठमाडौँ– जिल्ला स्वास्थ्य कार्यालय ललितपुरसँगको समन्वयमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले बुधबार जिल्लामा क्रियाशील २०८ जना पत्रकारहरुलाई कारोनाविरुद्धको दोस्रो डोज खोप उपलब्ध गराएको छ ।

कोरोना महामारीमा अग्रपंक्तिमा काम गर्नेहरुलाई प्राथमिकतामा राखेर जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्धको दस्रो मात्रा खोप लगाएको हो ।

सेना, प्रहरी, सरसफाईकर्मी र पत्रकारलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाइएको स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले जानकारी दिए ।

‘हामीले अग्रपंक्तिमा खटिएर काम गर्नेहरुलाई दोस्रो मात्रा खोप उपलब्ध गराएका छौँ’, वरिष्ठ प्रशासक गेलालले भने, ‘हामीसँग मौज्दात भ्याक्सिनको आधारमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, राष्ट्रसेवक कर्मचारी जसले पहिलो डोज लगाएर चार हप्ता नाघिसकेकाहरुलाई दोस्रो मात्रा खोप लगाएका हौँ । ’

पत्रकार महासंघ ललितपुर शाखाले पत्रकारलाई प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप लगाउनुपर्ने माग राख्दै आएको छ । सोहीअनुरुप स्वास्थ्य कार्यालय ललितपुरसँगको समन्वयमा जिल्लामा क्रियाशील पत्रकारहरुलाई खोप प्रदान गरिएको पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले जानकारी दिए ।

‘महासंघमा निर्वाचित भइसकेपछि हाम्रो प्राथमिकता भनेकै पत्रकारहरुलाई खोप उपलब्ध गराउनु थियो, जोखिम मोलेर अग्रपंक्तिमा खटिने पत्रकारहरुको सुरक्षा गर्नु हाम्रो दायित्व पनि हो’, अध्यक्ष न्यौपानेले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा हामीले जिल्लामा क्रियाशील पत्रकारहरुलाई गत असार ६ गते पहिलो मात्रा खोप उपलब्ध गराएको थियौँ, पहिलो मात्रा खोप लगाएकाहरुलाई अहिले दोस्रो मात्रा खोप लगाएका हौँ ।’

ललितपुर शाखाले जिल्लामा अझै केही पत्रकारहरु खोप लगाउनबाट बञ्चित भएको हुन सक्ने भन्दै उनीहरुका लागि पनि खोपको पहल गर्ने जनाएको छ । ललितपुर शाखाका सचिव रामहरि कार्कीले खोप लगाउन छुटेका पत्रकारहरुलाई महासंघको सम्पर्कमा रहन आग्रह गरे ।

‘अझै खोप लगाउनबाट बञ्चित तथा छुट्नुभएका साथीहरुले महासंघमा आवेदन दिनुहोला’, सचिव कार्कीले भने, ‘ प्राप्त आवेदनअनुरुप हामी अर्को चरणमा खोपका लागि पहल गर्नेछौं ।’

सचिव कार्कीका अनुसार बुधबार २०८ जना जिल्लाका क्रियाशील पत्रकारहरुले कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल दोस्रो मात्रा लगाएका हुन् । जसमध्य १६४ जना पुरुष र ४४ जना महिला रहेको उनले बताए ।