२४ घण्टामा नेपालका १५ बैंक ह्याक गर्ने ‘धम्की’, राष्ट्र बैंकलाई ह्याकरको फोनमा ‘थ्रेट’

२४ घण्टामा नेपालका १५ बैंक ह्याक गर्ने ‘धम्की’, राष्ट्र बैंकलाई ह्याकरको फोनमा ‘थ्रेट’
बिहिबार, साउन ७, २०७८

पुष्कर खतिवडा
काठमाडौं – बुधबार साँझ नेपाल राष्ट्र बैंकका दुई पदाधिकारीसहित नबिल बैंकका सिइओलगायतलाई एउटा इमेल आयो । इमेलमा नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, राष्ट्र बैंककै सहायक प्रवक्ता नारायणप्रसाद पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई लक्षित गर्दै आएको थियो । मेल नेपाल राष्ट्र बैंकसहित चल्तिका १५ वाणिज्य बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने भन्दै धम्की दिइएको थियो ।

यतिमात्र होइन, नेपाल राष्ट्र बैंकका प्रवक्ता ढकाललाई बिहीबार बिहान राष्ट्र बैंकसहित नेपाल र नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी टेलिफोन मार्फत धम्की आएको थियो । फोनकर्ताले अंग्रेजीमा राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक हुँदै छ भनेर फोन काटे । प्रवक्ता ढकाललाई बिहीवार बिहान ७ बजेतिर अननन नम्बरबाट आएको अन्तर्राष्ट्रिय कलमा ‘योर सिस्टम ह्याज बिन ह्याक’ भनियो र यति भनेर फोन काटियो ।

राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको समाचार बाहिरीएसंगै बिहीबार बैंकका सेवाग्राहीहरुमाझ संत्राश फैलियो । इमेलमा आएको सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको इमेलमा पनि पठाइएको थियो ।

ह्याकरले बुधबार पठाएको पत्रमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, हिमालयन बैंक र एसविआई बैंकको नाम उल्लेख छ । मेलमा पत्रलाई खेलाँचीका रूपमा नलिन चेतावनी समेत दिइएको छ ।

ह्याकरहरुले पठाएको अपरिचत इमेलमा २४ घण्टाभित्र ह्याक गर्ने धम्की दिइएको थियो । तर नेपाल राष्ट्र बैंकले भने आफ्नो र नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको छ । बैंकले प्रयोग गर्ने फायर वालहरु सुरक्षित र ठिक अवस्थामै रहेको र अन्य बैंकहरुले पनि आफ्नो प्रणाली सुरक्षित रहेको बताएको राष्ट्रले दाबी गरेको छ ।

राष्ट्र बैंकले अहिलेसम्म नेपालका सबै बैंक तथा वित्तीय संस्थाका प्रणालीहरू सुरक्षित रहेको जनाएको छ । अपरिचित व्यक्तिबाट यहाँका १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने चेतावनी आएकोमा बैंकले सर्वसाधारणलाई सुरक्षा व्यवस्थाप्रति ढुक्क हुन राष्ट्र बंैकका प्रवक्ता ढकालले आग्रह समेत गरेका छन् ।

राष्ट्र बैंकले सर्वसाधारणलाई बैक सुरक्षित रहेको र सम्भावित जोखिमबारे पनि थप अनुसन्धान भइरहेको बताएको छ । यसबारे प्रहरीले पनि अनुसन्धान गरिरहेको बैंकले जनाएको छ ।

पत्र भाइरल भएपछि नाम उल्लेख भएका बैंकहरुले रातभरी नै कर्मचारी राखेर प्रणाली निगरानी गरेका थिए । अहिले पनि प्रणाली पुरै निगरानीमा रहेको बैंकरहरुले बताएका छन् । यता सुरक्षा विज्ञहरु भने नेपालमा प्रविधिको क्षेत्रमा लगानी कमजोर रहेका कारण विदेश बसेर यस प्रकारको हर्कत गर्ने भएकाले यसको नियन्त्रणमा प्रविधिमा जोड दिनुपर्ने बताउँछन् ।

यसरी ह्याकरले पठाएको पत्र बुधबार साँझ नै बैंकिङ क्षेत्रमा ’भाइरल’ भइसकेको थियो । त्यही भएर ढकालले हतार हतार आफ्नो आइटी (सूचना प्रविधि) विभागलाई फोन कलका बारेमा जानकारी गराएका थिए । जसको प्रारम्भिक अनुसन्धानमा, इम्पोर्टेन्ट डट इन एटयान डेक्स डटकमबाट पठाइएको इमेल पत्र रुसको डोमेन प्रयोग गरेर पठाइएको खुलेको छ ।