आयोगले पार्टी विभाजन गराएको राजेन्द्र महतोको आरोप

आयोगले पार्टी विभाजन गराएको राजेन्द्र महतोको आरोप
सोमवार, साउन ११, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले आफूहरुले पार्टी विभाजनको माग नगरेको भन्दै निर्वाचन आयोगले पार्टी विभाजन गराएको आरोप लगाएका छन् ।

आयोगमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका हुन् ।

महतोले भने, ‘दल जनताबाट निर्माण हुने हो । ५१ जनामात्र दल होइन भन्ने सम्पूर्ण नेपाली जनताले बुझेका छन् । हामीले विभाजनका लागि प्राविधिक काम यहाँ गर्यौँ, यो दूर्भाग्यपूर्ण काम हो । एक सालअघि उपेन्द्र यादवजीको पार्टी विभाजन भइरहेको थियो । एक सालभित्र आजको अवस्था आउँछ भनेर हामीले कल्पना पनि गरेका थिएनौँ । त्यही भएर हामी अब जनता मै जाने हो ।’

देशमा वैकल्पिक शक्ति निर्माण गर्न र शोषण उत्पीडनमा परेका जनतालाई न्याय दिन पार्टी एकताबद्ध भएको बताएका छन् ।

अहिले त्यसको ठीक विपरीत भएको र यहाँ प्राविधिक पक्ष देखाएर विभाजन गर्न खोजिएको आरोप समेत महतोको छ ।

यतिबेला पार्टीमा आधिकारिकताका लागि निर्वाचन आयोगमा पार्टीका कार्यकारिणी सदस्यहरुको सनाखत चलिरहेको छ ।

कार्यकारिणी समितिका बहुमत सदस्यहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा सनाखत गरेको सो पक्षले दाबी गरेको छ भने यसबारे निर्वाचन आयोगको आधिकारिक फैसला आउन बाँकी रहेको छ ।