चैतसम्म ३ करोड २३ लाख डोज खोप उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको दाबी

चैतसम्म ३ करोड २३ लाख डोज खोप उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको दाबी
सोमवार, साउन ११, २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतसम्ममा ३ करोड २३ लाख डोज खोप प्राप्त हुने दावी गरेको छ ।

असोज मसान्तसम्म १ करोड ५ लाख ४८ हजार डोज खोप प्राप्त गर्ने आधार तय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलका क्रममा मन्त्रालयका अधिकारीहरूले कोभ्याक्स कार्यक्रमबाट १ करोड १३ लाख डोज खोप आउने बताएका छन् ।

यस्तै, कोभ्याक्स अन्तर्गत लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जानसेन र सिनोभ्याकको १ करोड ५० लाख डोज तथा बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप आउने बताएका हुन ।

अनुदान वा खरिद गरेर खोपको व्यवस्था गर्ने नवनियुक्त स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले बताएका छन् । राज्यमन्त्री श्रेष्ठले तेस्रो लहरको संक्रमणमा निःशुल्क उपचार गर्ने गरी आफूले सेवामूलक अस्पताल खोल्ने दाबीसमेत गरेका छन् ।

यस्तै एमाले सांसद योगेश भट्राईले चीनको भेरोसेल खोपलाई धेरै मुलुकले मान्यता नदिएकाले विद्यार्थी र श्रमरोजगारीमा जानेहरूलाई समस्या बताएका छन् ।

उक्त छलफलमा समितिका सदस्यहरूले नेपालमै कोरोना भाइरस विरुद्धको खोप बनाउन पहल गर्नुपर्ने, संक्रमितको उपचार समान रूपमा हुनुपर्ने, उपचार र संक्रमण नियन्त्रण गर्न खर्च भएको रकमको विवरण सार्वजनिक गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।