गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउछौंः मन्त्री भुसाल

गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउछौंः मन्त्री भुसाल
सोमवार, साउन ११, २०७८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताएकी छन ।

सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको जानकारी गराएकी हुन् । उनले विद्युत महशुल सस्तो बनाउनेदेखि निजी क्षेत्रसंग सहकार्य गरी विद्युत उत्पादन बृद्धि गर्ने योजना पनि प्रस्तुत गरेकी छन् ।

मन्त्री भुसालले गरिवीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारेपनि निर्णय भने भईनसकेको स्पष्ट पारिन । मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारिन । आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग, कलकारखाना, व्यवसायका लागि पनि विद्युत महसुल सस्तो गरेर जान उपयुक्त हुने उनको भनाई थियो ।

मन्त्री भुसालले विद्युत उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताइन । त्यसैगरी उनले ट्रान्समिसन लाईन निर्माणको काममा तीव्रता दिने पनि बताइन । मन्त्री भुसालले कृषि योग्य सबै जमिनमा सिँचाईको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन ।

मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषियोग्य जमिनमा सिंचाईको व्यवस्था गर्नुको विकल्प नरहेको बताएकी छन् । संविधानमै मौलिक हकको रुपमा रहेको शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीलगायतका आधारभूत बस्तुको सहज र सस्तो ढंगले जनतालाई उपलब्ध गराउन सरकारले जोड दिने साेंच बनाएको स्पष्ट पारिन ।

मन्त्री भुसालले जलविद्युत आयोजना प्रभावित क्षेत्रमा देखिएको जग्गाको मुआब्जा लगायतका समस्या समाधान गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिईसकेको बताएकी छन् । जलविद्युत आयोजनाहरु जग्गाको मुआब्जाका कारण अघि बढ्न नसकेको अवस्थाको अन्त्य गर्न आफू लागिपर्ने उनले बताइन ।