पहिरो पीडितलाई गाँस र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग

पहिरो पीडितलाई गाँस र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग
सोमवार, साउन ११, २०७८

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले कोरोना र बाढी, पहिरो पीडितहरुका लागि गाँस र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा सहभागी सांसदहरुले यस्तो माग गरेका हुन ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा सहभागी नेपाली काँग्रेसकी सांसद सुवर्ण ज्वारचनले कोरोना र बाढी, पहिरो पीडितहरु भोकभोकै मर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरुका लागि आवश्यक गाँस र बासको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेकी छन् ।

सांसद ज्वारचनले समितिले पनि बाढी, पहिरो र कोरोना अति प्रभावित क्षेत्रको अनुगमन गरी उनीहरुलाई राहत दिन सरकारलाई सचेत गराउन ढिलाई गर्न नहुनेमा जोड दिइन ।

एमालेकी सांसद एवम् पूर्व मन्त्री थममाया थापाले कोरोनाको तेस्रो लहर आउन नदिन सरकारलाई सचेत गराइन । बालबालिकाहरु दूव्र्यसनमा फँस्ने क्रम कोरोना कालमा झनैै बढदै गएको उल्लेख गर्दै उनले त्यसो हुन नदिन सरकार सजग हुनुपर्ने पनि स्पष्ट पारिन ।

समितिकी अर्का सदस्य एवम् कांग्रेस सांसद हिरा गुरुङले बालिकाहरुमाथि बलात्कारपछि हत्या गर्ने क्रम बढिरहेकोमा आक्रोस व्यक्त गर्दै पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन ।

उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले अझै न्याय नपाएको दृष्टान्त समितिको बैठकमा पेश गर्दै पीडितलाई न्याय दिने काममा सरकार गम्भीर नभएको आरोप समेत लगाइन ।

बैठकमा अमृता थापामगर, विमला विश्वकर्मालगायतका सांसदहरुले सामाजिक कलंकको रुपमा रहेको छाउपडी प्रथा, बोक्सी, दाईजो दिने जस्ता कुप्रथाको अन्त्य गर्न सामाजिक अभियान नैै चलाएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराएका थिए ।