मन्त्रालय भागबण्डाको टुंगो लगाउने जिम्मा शिर्ष नेताहरुलाई दिने सत्तारुढ गठबन्धनको निर्णय

मन्त्रालय भागबण्डाको टुंगो लगाउने जिम्मा शिर्ष नेताहरुलाई दिने सत्तारुढ गठबन्धनको निर्णय
बुधबार, साउन १३, २०७८

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले मन्त्रालय भागबण्डाको जिम्मा शिर्ष नेताहरुलाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा लगाएतको निर्णय गर्ने अधिकार शिर्ष नेताहरुलाई दिने निर्णय गरेको हो । बैठकमा सैद्धान्तिक बिषयमा मात्रै छलफल केन्द्रित रहेको महामन्त्री पुर्णबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार सरकारको न्युनतम साझा कार्यक्रम छिटो टुङ्गो लगाउन कार्यदललाई निर्देशन समेत बैठकले दिएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायण काजी श्रेष्ठ र जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई सहभागी थिए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दूर्गा पाैडेल सहभागी थिए । गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समुहबाट डाक्टर विजय पौडेल सहभागी थिए ।