राष्ट्रपति भण्डारीद्वारा युद्ध संग्रहालयको उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा युद्ध संग्रहालयको उद्घाटन
बुधबार, साउन १३, २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको उद्घाटन गरेकी छन् ।

सिन्धुलीगढीमा कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले बनाएको सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन राष्ट्रपति भण्डारीले गरेकी हुन् ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

नेपाल एकीकरणका क्रममा विक्रम सम्बत १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्टइण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको थियो ।