इनार खन्दा फेला पर्‍यो ‘१० करोड डलर पर्ने एउटा विशाल नीलमणि’

इनार खन्दा फेला पर्‍यो ‘१० करोड डलर पर्ने एउटा विशाल नीलमणि’
बुधबार, साउन १३, २०७८

काठमाडौँ– श्रीलंकामा इनार खन्दा बहुमुल्य रत्न नीलमणि फेला परेको छ । यो बहुमूल्य रत्नको मूल्य १० करोड डलरसम्म पर्ने अनुमान गरिएको छ ।

श्रीलङ्कामा संसारकै सबैभन्दा ठूलो ‘स्टार सफायर’ भनिने एक प्रकारको नीलमणि फेला परेको अधिकारीहरूले बताएका छन्।

उक्त बहुमूल्य रत्न संयोगले भेटिएको हो। रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडि इनार खन्न लाग्दा कामदारहरूले ५१० केजी तौल भएको रत्न एकैढिक्कामा फेला पारेको एक रत्नव्यापारीले बताएका छन्।

हल्का नीलो रङ्गको उक्त मणिले अन्तर्राष्ट्रिय बजारमा १० करोड अमेरिकी डलरसम्म अर्थात् झन्डै १२ अर्ब नेपाली रुपैयाँसम्म मूल्य पाउने विज्ञहरूको भनाइ छ।

उक्त विशाल रत्नलाई “सेरन्डिपिटी सफायर” नामकरण गरिएको छ।

“इनार खनिरहेका एक कामदारले हामीलाई केही दुर्लभ पत्थरबारे जानकारी दिए। पछि हामीले यो विशाल वस्तु भेट्यौँ,” उक्त मणिको स्वामित्व भएका गामागेले बताए।

गामागेका बाबुबाजेले पनि रत्नको व्यापार गर्थे। सुरक्षाका कारण उनले आफ्नो पूरा नाम र ठेगाना बताएनन्।

विशाल नीलमणि फेला परेपछि गामागेले अधिकारीहरूलाई सूचित गरेका थिए।

झन्डै एक वर्ष लगाएर माटो तथा अन्य विकार हटाएपछि बल्ल उक्त पत्थरको विश्लेषण गरी नीलमणि भएको उनीहरूले प्रमाणित गरिदिएका थिए।

गामागेका अनुसार सफा गर्ने क्रममा पत्थरको विशाल ढिक्काबाट केही टुक्रा झरेका थिए। ती उच्चगुणस्तरीय स्टार सफायर भएको पत्ता लाग्यो।

स्थानीय सिन्हला भाषामा रत्नपुरको अर्थ संस्कृतमा जस्तै रत्नहरूको सहर भन्ने हुन्छ।

विगतमा पनि त्यहाँ अन्य बहुमूल्य पत्थरहरू फेला परेका थिए।

श्रीलङ्का नीलमणि र अन्य बहुमूल्य रत्नको ठूलो निर्यातकर्ता हो।

गत वर्ष श्रीलङ्काले रत्न, प्रशोधित हीरा र जवाहिरातको निर्यात गरेर झन्डै ५० करोड डलर अर्थात् साढे ५९ अर्ब नेपाली रुपैयाँ आम्दानी गर्‍यो। बीबीसीबाट