सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारको तयारी

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारको तयारी
बिहिबार, साउन १४, २०७८

काठमाडौं– सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक बस्ने भएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो।

बिहीबार(आज) बिहान ८ः३० बजे बालुवाटरमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल हुने एक नेताले बताए। बैठकमा मन्त्रालय भागबण्डाको विषयमा समेत छलफल हुने भएकाले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने समेत उनले बताए।

गठबन्धनका शीर्ष नेता सहभागी हुने बैठकमा सरकारका अन्य काम–कारबाहीका विषयमा समेत छलफल प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ। यसअघि बुधबार बिहान बसेको बैठकमा जतिसक्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने विषयमा समझदारी बनेको थियो।