पुनर्वहालीको माग गर्दै अदालत पुगेका पूर्वमाओवादी नेताले दायर गरेको रिटको सुनुवाइ आज

पुनर्वहालीको माग गर्दै अदालत पुगेका पूर्वमाओवादी नेताले दायर गरेको रिटको सुनुवाइ आज
बिहिबार, साउन १४, २०७८

काठमाडौं– सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वाेच्च अदालतमा दायर गरेको रिटको आज (बिहीबार) सुनुवाइ हुँदै छ।

नेकपा (माओवादी केन्द्र)को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्च पुगेका हुन्।

ती रिटको आज पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै माओवादीले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।