Sat Jun 25 2022
देश

काठमाडौँमा विद्यार्थी र ४० वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप अभियान जारी

जिबन रानाभाट, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अहिले खोप अभियान जारी छ । शुक्रबार १८ बर्ष माथिका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई लक्षित गरी कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको छ ।

यद्यपि खोप लगाउन पुगेका सर्वसाधारणले भने अझै पनि भौतिक दुरी कायम गरेको पाइदैन ।

काठमाडौँ महानगरपालिकामा १८ वर्ष माथिका विद्यार्थी र ४० वर्ष माथिका व्यक्तिहरुलाई लक्षित गरि चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउने थालेको छ ।

तर खोप केन्द्रमा देखिन अस्तव्यस्त उस्तै छ । कोरोना संक्रमणको जोखिममा रहेका नागरिक कोरोनाविरुद्धको खोप लगाउन तछाडमछाड गर्नु पर्दा कोरोना नै बोकेर घर फर्किनु पर्ने हो कि भन्ने त्रासमा छन् । यद्यपि खोप लगाउन पाउदा सबै खुसी नै छन् ।

भौतिक दूरी नहुँदा खोप लगाउने ठाउँबाटै सङ्क्रमित बढ्न सक्ने खतरा देखिन्छ । लाइन व्यवस्थापनमा खटिएकाहरूको पनि आफ्नै गुनासो छ । चाहेर पनि व्यवस्थित गर्न नसकिएको उनीहरूको तर्क छ ।

जति सम्झाए पनि मानिसहरूले नटेरेको तथा सम्झाउँदा पनि ठेलमठेल गर्ने र माइकिङ गरेर भन्दा पनि केही नलाग्ने उनीहरुको गुनासो छ । यता सरकारका अधिकारीहरुले भने खोप केन्द्रमा भिड नगर्न आग्रह गर्दै आएका छन् ।

खोप लगाउन जाने सर्वसाधारणले भिड व्यवस्थापनमा सहयोगी भूमिका खेल्न जरुरी छ । खोप केन्द्रबाटै कोरोना संक्रमण फैलन नदिन भौतिक दूरी र माक्स लगाउन जरुरी छ ।

सरकारी तथ्यांकानुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्राको कोरोनाविरुद्धको खोप लगाईसकेका छन् । बाँकी ७० प्रतिशत लक्षित वर्गले खोप लगाउन बाँकी रहदै गर्दा अहिले खेपेका समस्याबाट पाठ सिक्न जरुरी छ ।