Thu May 19 2022
मुख्य खबर

बारामा मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

जीतलाल श्रेष्ठ 

बारा- पूर्व—पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुर—सिमरा उपमहा नगरपालिका स्थित १६ किलोमिटर नजिकै दुई वटा मोटर साईकल एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनमा मोटर साईकलमा सवार दुई पुरुष र एक महिलाको घटनास्थलमै  ज्यान गएको प्रहरीले जानकारी दिएको  हो । एक वटा मोटर साईकल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

मृत्यु हुनेमा निजगढ नपा ९ का १६ वर्षीय विकास कुमार साह, पर्सा डकेला बहुअरीकी ३५ वर्षीया सुनैनादेवी साह र जीतपुर—सिमरा उपमहा नगरपालिका १३ पैनीटोलका ४० वर्षीय टुलुराज तामाङ्ग रहेका छन् ।

पूर्व—पश्चिमतर्फ जाँदै गरेको बा ६५ प २७५६ नम्बरको मोटर साईकल र पश्चिमबाट—पूर्व तर्फ आउँदै गरेको प्रदेश नं. २—०३—००२ प ५३३५ नम्बरको मोटर साईकल शनिबार राति करिब ९ः३० बजे सो जुध्दा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक शंकर चौधरीले बताउनुभयाे ।

सो दुर्घटनामा बा ६५ प २७५६ नम्बरको एनएस मोटर साईकल सडकमा नैं आगलागी भई जलेर नष्ट भएको छ ।

मृत्तकहरुको शव पोष्टमार्टमको लागि कलैया अस्पताल लगिएको छ ।