जोडिनुहोस
  • होमपेज
  • रसुवागढी र केरुङ नाकामा दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति

रसुवागढी र केरुङ नाकामा दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति

काठमाडौँ कोरोना महामारीका कारण तीन वर्ष ठप्प भएका प्रमुख दुई नाका खोल्न चीन सहमत भएको छ ।

हिजो ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकमा तत्काल रसुवागढी–केरुङ र वैशाख तेस्रो हप्तादेखि तातोपानी–झाङ्मु नाकामा आवतजावत नियमित गर्ने सहमति भएको छ ।

बैठकपछि ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासले दुवै पक्षबीच चैत १८ गते अर्थात् पर्सिदेखि रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको जानकारी दिएको छ । यसैगरी, तातोपानी नाकामा एक महिनापछि वैशाख १८ गतेदेखि दुईतर्फी व्यापार र आवागमन नियमित हुनेछ ।

बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनका तर्फबाट तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

बैठकमा सीमापार व्यापार र नागरिकको आवतजावतलाई अधिकतम स्तरमा सुरु गर्ने, स्थल बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्रको विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ उपाय खोज्ने विषयमा छलफल भएको थियो । नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्न सहमत भएको छ ।

नेपालले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्ने र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रस्तावलाई पनि चीनले स्वागत गरेको छ । चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासनसमेत दिएको महावाणिज्यदूतावासले जनाएको छ ।

दुई देशबीचको घनिष्ठ आर्थिक र व्यापारिक सम्बन्धको महत्त्वलाई स्वीकार गर्दै दुवै प्रतिनिधिमण्डलले चीनमा ‘सिट्र्स’ फलफूल, ‘ड्राइ मिट’ र औषधिजन्य जडीबुटीजस्ता कृषि तथा पशुजन्य उत्पादनको निर्यातलगायतका क्षेत्रमा सम्भावित सहयोगबारे विचार आदानप्रदान गरेका थिए । सचिव मरासिनीले काठमाण्डौ–ल्हासा सिधा उडानको आवश्यकतामा जोड दिँदै चिनियाँ पक्षलाई चाँडै नै सिधा उडान सुरु गर्न आग्रह गर्नुभएको थियो ।

दुवै पक्षले नेपालको उत्तरी हिमाली क्षेत्रका सीमावर्ती जिल्लामा बसोबास गर्ने मानिसको जीवनस्तरमा सुधार ल्याउन सहयोगको स्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई पनि जोड दिएका छन् । चिनियाँ पक्षले नेपालमा उत्पादन, कृषि र तयारी पोसाकजस्ता विभिन्न क्षेत्रमा लगानी गर्न आफ्ना व्यवसायी समुदायलाई प्रोत्साहन गर्न पनि सहमत भएको छ ।

कोभिड–१९ को प्रतिक्रियामा दुवै देशले हालै अपनाएका नीतिलाई मध्यनजर गर्दै दुवै पक्षले नेपाल–चीन संयुक्त महामारी रोकथाम तथा नियन्त्रण संयन्त्रको नाम परिवर्तन गरी सीमा व्यापार तथा सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्र राख्ने सहमति गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका