Thu May 26 2022
मुख्य खबर

नयाँ दल दर्ता सनाखतका लागि माधव नेपाल र महन्थ ठाकुर पक्ष निर्वाचन आयोग जाँदै

काठमाडौँ– नयाँ दल दर्ताका लागि निवेदन दिएका दुई दल सनाखतका लागि आज निर्वाचन आयोग जानेभएका छन् ।

आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई आज सनाखतका लागि बोलाएको हो ।

आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । बिहान साढे ११ बजेदेखि दिउँसो दुई बजेसम्म नेताहरु आयोगमा पुगेर सनाखत गर्नुपर्नेछ । तोकेको समयभित्र सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुवै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो । राजनीतिक दलसम्बन्धी व्यवस्थाअनुसार केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत प्रतिनिधित्व हुने गरी मात्रै दल विभाजन गर्न पाउने व्यवस्था रहेकोमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले दल विभाजन गरी नयाँ दल दर्ताका लागि परेका दुई निवेदनमा सनाखत गराउनुअघि संसद सचिवालयसँग सांसदहरुको विवरण माग गरेको थियो । आयोगको पत्रअनुसार संसद सचिवालयले मंगलबार नै सांसदहरुको सूची बनाएर पठाएको छ।