Fri May 20 2022
समाचार

नेपाली चेली डा. विष्णुमाया परियारको जीवनी विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशन

काठमाडौं – नेपाली चेली डा. विष्णुमाया परियारको जीवनी विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित भएको छ। विश्वविद्यालय र हाईस्कूलका विद्यार्थीहरूको पाठ्यपुस्तक प्रकाशनमा विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राईट होफ्नरद्वारा लिखित दि राईटर्स माईण्डसेट (The Writer’s Mindset) पुस्तकमा डा. परियारको जीवन संघर्षको जीवनी प्रकाशन गरेको छ। उक्त पुस्तकको ६९२ पृष्ठ मध्ये डा. परियारको कहानी पृष्ठ ५९१–५९४ बिच चार पृष्ठहरूमा समावेश गरिएकोछ।

 

उनको यो पाठ्यपुस्तकमा समावेश कहानी यस अघि अमेरिकी संघीय सरकारको पिस कोरले आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो। विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसनको पाठ्यपुस्तकहरू अमेरिकामा मात्र हैन विश्वको १००ं ९सय बढी मुलुकहरूका हाईस्कूल, कलेज र विश्वविद्यालयहरूमा पढाईन्छ।

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरको मेयर स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्डकि पूर्व सल्लाहकार रही सकेकी डा. परियार हाल जर्सी सिटी सहरको रोजगारी र तालिम कमिटीको सदस्यमा सन् २०२१–२०२४ कार्यकालको निम्ति नियुक्त भएकी छिन् । साथै जर्सी सिटी सहरको नेपालको लागि सिस्टर सिटीको लागि ईमिसरी (विशेषदूत) पनि हून्।

डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी कायम गरिएको छ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झण्डा फहराईएको थियो । डा. परियार एनआरएनए आईसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोवल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाकि संस्थापक अध्यक्ष पनि हुन्।

 

राष्ट्रीय र अन्तर्राष्ट्रीय धेरै पुरस्कारहरूबाट सम्मानित डा. परियारलाई सन् २०१५ मा उनले पुर्याएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्यको लुईभिल शहरका मेयर ग्रेग ई फिसरले प्रोक्लेमेसन पत्रद्वारा सेप्टेम्बर २७ तारिखलाई डा. विष्णुमाया परियार डे घोषणा गरिएको छ । यसरी जिवित नेपाली व्यक्तित्वको नाममा दिवस (डे) घोषणा गरेर विदेशी भूमिमा सम्मान गरिएको यो पहिलो हो ।

डा. परियार हाल अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीस्थित केयरपोईन्ट हेल्थ अन्तर्गत हड्सन स्पिकमा घरेलु र यौन हिंशा सम्बन्धी आउटरिच को–अर्डिनरकोरूपमा सेवा पुर्याउँदै आएकी छिन् ।