Fri May 20 2022
मुख्य खबर

मेचीको ट्रायल सेन्टर सुविधायुक्त स्थानमा स्थानान्तरण

पुजन घिमिरे

झापा – सवारी चालक अनुमती पत्रको लागि प्रयोगात्मक परीक्षामा मापदण्डविहिन भएको चौतर्फी गुनासो छ । यस्तो अवस्थामा झापामा भने सरकारी मापदण्डसहितको स्थानमा ट्रायल सेन्टर सारिएका छ । योसँगैै अब सवारी चालक अनुमती पत्र लिने परीक्षार्थीहरुले सम्पुर्ण भौतिक पुर्वाधारसहितको सुबिधासम्पन्न स्थानमा परिक्षा दिन पाउँने भएका छन् ।

यातायात ब्यवस्था कार्यालय मेचीले बिर्तामोड नगरपालिकास्थित श्री कृष्ण प्रणामी मन्दिरको जमिन भाडामा लिएर संचालन गर्दै आएको सवारी चालक अनुमति प्रयोगात्मक परिक्षास्थल स्थानान्तरण गरिएको छ । चर्को घाम र पानिमा परीक्षा दिदै आएका सेवाग्राहीले सरकारी मापदण्ड सहितको सुबिधायुक्त परिक्षा केन्द्रमा निशुल्क परिक्षा दिन पाउँदा सहज महशुस भएको बताएका छन् ।

बिर्तामोडस्थित कान्तिपुर मोटर ड्राइभिङ सेन्टरले १० वर्षका लागि निःशुल्क रुपमा यातायात कार्यालयलाई सरकारी मापदण्डसहितको ट्रायल सेन्टर उपलब्ध गराएको हो । शौचालय, क्यान्टिन, खानेपानी र प्रतिक्षालयसहितको सुबिधायुक्त परीक्षास्थलमा बिहीबार प्रयोगात्मक परीक्षा गरेर शुरु भएको यातायात ब्यवस्था कार्यालय मेचीले जनाएको छ ।

आफ्नै सवारी साधन हुनेले परीक्षा दिएवापत कुनै पनि शुल्क तिर्न नपर्ने ड्राइभिङ सेन्टरले जानकारी दिएको छ । बिगतमा परीक्षा दिन प्रति परिक्षार्थी एक हजार रुपयाँसम्म तिर्दै आएका परिक्षार्थीले अब भने आफ्नै सवारीसाधनबाट निःशुल्क परिक्षा दिन पाउँने भएका छन् । पूरानो परीक्षास्थलको तुलनामा पुर्ण रुपमा मापदण्ड पुरा भएकाले सेवाग्राही र सेवा प्रदायक दुवैलाई सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पाँच महिनाअघिबाट रोकिएको सवारी चालक अनुमतीपत्रका लागि प्रयोगात्मक परीक्षा दिन मेचीका करिब १० हजार परिक्षार्थी प्रतिक्षारत रहेको यातायात ब्यवस्था कार्यालय मेचीले जनाएको छ ।