Thu May 19 2022
मुख्य खबर

म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडकको स्तरोन्नति शुरु

सन्तोष गौतम
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति शुरु भएको छ । यो सडकलाई दुई लेनको बनाएर कालोपत्रे गरेपछि आवत–जावत सहज हुने, सास्ती हट्ने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरि दुई लेनको बनाउन लागिएको हो ।

चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला आयोजनाले मालढुङ्गा–बेनी सडक निर्माण शुरु गरेको छ । २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले प्रारम्भिक चरणको काम शुरु गरेको जनाएको छ ।

हाल पिच सहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रबिधीको कालोपत्रे गर्न लागिएको हो । सडकको डिल र कुनातर्फ पर्खाल निर्माण गर्ने योजना छ ।

मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोर अन्र्तगत बेनीदेखि कोरल्ला, मालढुंगादेखि बागलुङ्ग र पर्वत दुबै तर्फबाट समानान्तर रुपमा काम भैरहेको छ । बागलुङ र पर्वत मध्य कुन जिल्लाको सडकलाई कोरिडोरमा समावेश गर्ने भन्ने लामो समयदेखिको अन्यौल गत वर्ष हटेपछि पर्बतबाट निर्माण हुन लागेको हो ।

बि.स. २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत शुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जिर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवत जावत प्रभावित हुने गरेका छन् । बर्खामा पहिरोले दैनिकजसो अबरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झञ्जट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको छ ।

सिंगो म्याग्दी र मुस्ताङ जिल्लाको साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक पर्यटकीय, ब्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ । सडक निर्माण आयोजनालाई निर्धारित समयभित्रै गुणस्तरीय हिसाबले सम्पन्न गराउन सरोकारवालाको ध्यान केन्द्रित हुन आवश्यक छ ।