Wed May 18 2022
देश

जति मोर्चाबन्दी गरेपनि एमाले नै ठूलो पार्टी होः केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले महासागरजत्रो पार्टी भएकाले माधव नेपालले अरुसँग मिलेर नयाँ पार्टी गठन गर्दैमा केहि फरक नपर्ने बताएका छन् ।

ललितपुरमा आयोजित युवासंघको भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले जति मोर्चाबन्दी गरेपनि एमाले नै ठूलो पार्टी भएको बताएका हुन् ।

हालै भएको पार्टी विभाजनलाई उनले रुखबाट पात खसेको संज्ञा दिएका छन् । पार्टी फुटाएर गएका माधव नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनले महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर खाल्डो खनेको बताए ।

माधव नेपाल प्रतिक्रियावादीसँग मिलेको भन्दै त्यस्ता मान्छे पार्टीबाट बाहिरिएर कुनै फरक नपर्ने बताए ।

आयोजित एक कार्यक्रममा ओलीले भने, ‘एक एक दर्जनका १० वटा पार्टी मिल्यो भने १० दर्जन नै त हुन्छ । १० दर्जनको मोर्चा कसेर एमालेसँग लड्ने ? उनले कटाक्ष गरे,अरुले मोर्चाले कसुन्, नेकपा एमाले ढोडका लौरा समातेर जंघार तर्ने पार्टी होइन, यो पार्टीसँग पौडिएर तर्ने क्षमता छ । महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’

माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै उनले १० वटा पार्टी मिल्दा पनि जम्माजम्मी १२० जना पुग्ने ओलीले दावी समेत गरेका छन् ।