Sat May 21 2022
देश

मनसुन सुरु भएयता बाढी पहिरोमा परी ९० जनाको मृत्यु, ९६ जना घाइते

अमृत ढकाल

काठमाडौँ– असार महिनादेखिको बाढी पहिरोमा ९० जनाले ज्यान गुमाएका छन् ।

मनसुनपछि वर्षा र यसपछि आएको बाढी र पहिरोमा दुई महिनामा ४५ जना बेपत्ता भएका छन् भने ९६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

असार महिनादेखिको वर्षा र बाढीपहिरोले शनिबार अपराह्नसम्म ९० जनाको ज्यान गएको छ । बाढी पहिरोकै कारण ४५ जना बेपत्ता छन् भने ९६ जना घाईते भएका छन् ।

दुई महिनादेखि जारी वर्षा र यसपछि आएको बाढीपहिरोले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा गरेको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन ।

दाङमा बाढीले ६ जनाको ज्यान गएको छ। तनहुँ, पाल्पा, रसुवा र दार्चुलामा पनि पहिरोले ५/५ जनाको मृत्यु भएको छ । जुम्ला, डोटी ,र गोरखामा पहिरोले ४/४ जनाको ज्यान गएको छ ।

रोल्पा, पाँचथर र रौतहटमा ३/३ जनाले ज्यान गुमाएका छन् । यस्तै प्युठान, चितवन, म्याग्दी, कैलाली, धादिङ, नवलपरासी, पर्वत, र सप्तरीमा २/२ जनाको मृत्यु भएको छ ।

बाजुरा, जुम्ला, अर्घखाची, कास्की, काभ्रे, कालीकोट, नुवाकोट, मकवानपुर, उदयपुर, मकवानपुर, सिन्धुली, खोटाङ, सर्लाही, रुकुम र बझाङमा १/१ जनाको मृत्यु भएको छ ।

भारी वर्षापछिको बाढीपहिरोले सिन्धुपाल्चोकमा ४४६ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । मनाङमा ५९ घर पूर्ण रुपले क्षति भएका छन् भने २० वटा घरमा आंशिक क्षति पुगेको छ । लम्जुङमा पनि ३५ घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन् ।

कास्कीमा १५ र तनहुमा १० घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । केन्द्रका अनुसार बाढी पहिरोले ६३ जिल्लाका ७६९ घर पूर्ण रुपले क्षति भएका छन् भने १६८ घरमा आंशिक रुपले क्षति भएका छन् ।

यो रिपोर्ट तयार पार्दासम्म बाढीपहिरोले देशभरका १९२ राजमार्गमा क्षति पुर्‍याएकोमा ११ वटा अझै पनि पूर्णरुपमा अवरुद्ध अवस्थामा छन् भने ११८ वटा सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । बाँकी ६३ वटा सडक भने पूर्णरुपमा सञ्चालनमा आएको सडक विभागले जनाएको छ ।