जोडिनुहोस
  • होमपेज
  • पीडितलाई विश्वास छैन, सरकारले गठन गर्यो आयोग

पीडितलाई विश्वास छैन, सरकारले गठन गर्यो आयोग

काठमाडौं । बर्दियाबाट ११ दिन पैदल हिँडेर न्याय माग्न काठमाडौ आईपुगेका मिटरब्याज विरुद्ध संघर्ष समितिका प्रतिनिधि र गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला समेतका पदाधिकारीवीच चैत्र १८ गते पाँचबुँदे सहमति भएपछि आआफ्ना घर फर्केका आन्दोलनकारीहरु गाउँ पुग्ने बित्तिकै सुदखोर साहु र तिनका आफन्तहरुको धम्कीको शिकार बन्न थालेका छन् ।

धनुषा जिल्लाको सबैला नगरपालिका १२बस्ने मिटरब्याज पीडित कल्पना धामीलाई उनका साहु मुसहर यादव र उनकी श्रीमती र बहिनी समेतले चैत २० गते रातको समयमा घरमै आएर धम्की दिएका छन् । कल्पनाले सार्वजनिक स्थानमा र मिडियामा साहुको नाम लिएर बदनाम गरेकी हुनाले सो भनाई फिर्ता लिन र माफी माग्न दवाव दिँदै त्यसो नगरेमा जे पनि हुनसक्ने भनि धम्की दिएको छ भनि मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले बताएका छन् । पासवान भन्छन्, आन्दोलन गरेर घर फर्केका पीडितहरुलाई तिनका साहुहरुले अनेकन त्रास देखाएर मानसिक यातना दिइरहेका छन् ।

यसैवीच चैत्र २० गते विहानै मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले धर्ना र आन्दोलन शुरु गरेका छन् । यो दोस्रो समूहले ८ महिना अघि भदौमा पनि काठमाडौँमा धर्ना र आन्दोलन गरेका थिए । सरकारले उनीहरुको समस्याको तत्काल समाधान हुने आश्वासन सहित पाँच बुँदे सहमति गरेर आन्दोलन फिर्ता गराएको थियो । तर उनीहरु घर फर्किएपछि पुन सुदखोर साहुकै धम्कीमा पर्न पुगे ।

मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति मधेश प्रदेशकी संयोजक सरस्वती मिश्रले काठमाडौमा आक्रोश पोख्दै भनिन्, सरकारले हामीलाई धोका दियो । संघर्ष समितिका संयोजक अवधेश कुशवाहाले भने, सरकारले हामीसंग गत असोज १ गते पाँच बुँदे सम्झौता गरेको थियो तर त्यसको कार्यन्वयन गरेन । अब हामी सम्झौता गर्दैनौं, झुठा आश्वासनमा फँस्दैनौँ । माग परिपूर्ति नभएसम्म हामी फर्कदैनौं ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याज पीडितको समस्या समाधानको लागि विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वनायवप्रहरीमहानिरिक्षक उत्तमबहादुर सुवेदी, पूर्व नायवमहान्यायाधिवक्ता गणेशबाबु अर्याल सम्मिलित तीन सदस्यीय मिटर बयाज विरुद्ध छानबीन आयोग गठन गरिसकेका छन् । यस आयागेलाई ३ महिना भित्र प्रतिवेदन बुझाउने समय दिइएको छ । यसले दिएको प्रतिवेदनको आधारमा समस्या समाधानको प्रक्रिया शुरु हुनेछ ।

स्थानीय तहमै पुगेर समस्या समाधान गर्ने, पीडितका नियमित रुपमा आउने उजुरी र गुनासो सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला स्तरिय सहजीकरण समिति गठन गरिने जस्ता अन्य भरपर्दा आश्वासन पाएपछि पीडितहरुले आन्दोलन फिर्ता लिएका थिए । गत शनिवार सरकारका प्रतिनिधिसंग पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेपछि संघर्ष समितिका संयोजक मनोज पासवानले भनेका थिए, यो सहमतिबाट हामी खुशी छौं । यो समस्या चाँडै नै समाधान हुनेछ भन्ने कुरामा हामी विश्वस्त पनि छौं । अब हामीलाई साहुको डर छैन ।

ठूला पार्टीका शीर्ष नेताहरुले मिटरब्याज पीडितका समस्यालाई गम्भीरतापूर्वक लिएको र उच्च स्तरिय जाँचबुझ आयोग गठन गर्ने र कानूनमा समेत संशोधन गरि समस्या समाधान गर्न सरकारको प्रतिवद्धता आएको तथा पीडितहरुका लागि निशुल्क कानूनी सहायता उपलब्ध हुने आश्वासन पाएपछि पीडितहरु घर फर्केका थिए ।

आन्दोलनमा सम्मिलित सिरहा, बेलहाकी मिटरब्याज पीडित गरिमा रायले भनिन्, दुई लाख रुपैँया लिएका थियौं, साँवा र ब्याज र स्याज समेत गरेर ३५ लाख नगद र दुई कित्ता जमिन दिँदा पनि अझै ऋण बाँकी छ छिटो तिर भनेर साहुनी सुजाता साहले धाकधम्की दिएर अरु जग्गा हडप्ने, गुण्डा लगाएर छोराछोरी मारिदिन्छु, अपहरण गराइदिन्छु भनेर तर्साइरहेकी छ । साहुले सबै सम्पति हरण गरिसकेर पनि बसिखान दिएको छैन । मेरो र भाईको स्कूल पनि छुटाई दियो । त्यसैले हामी न्याय खोज्न आएका हौं ।

अर्की मिटरब्याज पीडित सिराहा सुखीपुर ८ की लिलीयादेवी ठाकुरले भनिन्, डेढलाख ऋण लिएको महिनाको ४५ हजार ब्याजको दरले नौं लाख दिईसक्दा पनि मेरो साहु राजाराम साहले अझ २०लाख रुपैयाँ बाँकी छ, छिटो लेउ भनेर दिनदिनै घरमा आएर धम्की दिन्छ । तेरो नसाबाट पनि पैसा असुल गर्छु भनेर तर्साउँछ । हामी घरमा बस्न नसकेर बाहिर बस्नु परेको छ । मैले न्याय पाउछु कि पाउँदिन

सिराहा गोलबजार १३ की खैरुल खातुनको कथा पनि उस्तै छ । उनले आक्रोश पोख्दै भनिन्, राम लखन महत्तोसँग ५० हजार लिँदा उसले तीनलाख १५ हजारको कागज बनाउन लगायो । अदालतमा जग्गा पनी रोक्का गराएको छ । अझै ५–६ लाख माग गरेको छ । नियम अनुसार भन्दा बढी पैसा दिदा पनि अझै यातना दिइरहेको छ । लाल चमारसँग एक लाख लिएको थिएँ छ महिनामै ब्याज थपेर एक लाख ३० हजार दिँदा पनि घर घेर्न आयो । अझै पैसा मागिरहेको छ । छोरा अपहरण गराएर रोडमा काटिदिन्छु भनेर मानसिक यातना दिइरहेको छ ।

अर्का मिटरब्याज पीडित रामबाबु पासवान भन्छन्, रामयादवसँग दुई लाख लिएको थिएँ, धितोमा राखेको हाम्रो आठ कठ्ठा जग्गा पनि बेचेर खायो, नगद पाँच लाख पनि लियो, अझै ३० लाख रुपैयाँ दे नत्र घरबार फिर्ता गर्दिन भन्दै यातना दिन्छ ।

मिटरब्याज पीडित आगरदेवी राय भन्छिन्, साहु इन्दल राय सँग ५० हजार लिएको थिएँ । दिनको एक हजार गर्दै ६–७ लाख दिइसक्दा पनि अझै पैसा माग्छ, अरु पैसा नदिए छोरा अपहरण गरिदिने, घरबाट निकालिदिने ,गुण्डा लगाउने जस्ता धम्की दिएर जग्गा पनि हडपिइरहेकोे छ ।
यस्ता अनेकौं पीडा र यातनाहरु भोग्नु परेका मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न यो आयोग गठन गरिएको हो । यस आयोगको केन्द्रीय कार्यालय जनकपुरमा रहने छ ।

मिटर ब्याज पीडितले बताए अनुसार उनीहरुले यौन शोषण, मानसिक तनाव, धाक धम्की, कुटपीट, उठीबास, शिक्षामा रोकथाम, लिएको रकम कम्तीमा तेव्वर पारेर असुल गर्ने, साहुले मनलागि कागज बनाउन लगाउने, तमसुक नबनाई जमिन खोस्ने, पीडित माथि उल्टै मुद्धा हाल्ने, जमिन र पैसा दुबै लिएर पनि तमसुक नच्यातने इत्यादि छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका