Fri May 20 2022
देश

संसद सचिवालयको निश्कर्षः माधव नेपालसहित १४ सांसदलाई कारवाही गरिरहनु नपर्ने

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित १४ जना सांसदलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले कारवाही गरिरहनु नपर्ने संसद सचिवालयले निश्कर्ष निकालेको छ ।

नेपाल समूहले दलको मान्यता पाइसकेपछि संसद सचिवालयले १४ सांसदमाथि अब कारवाही गर्नुपर्ने अवस्था नआएको निर्णय गरेको हो ।

उनीहरुलाई कारवाहीको माग राख्दै संसद सचिवालयमा पठाएको पत्रबारे संसद सचिवालयले आइतबार टुंगो लगाएको हो ।

माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा एमालेले पठाएको पत्रबमोजिम कारवाही गर्नुपर्ने अवस्था नरहेको संसद सचिवालयको निर्णय उधृत गर्दै स्रोतले बताएको छ ।

माधव नेपालहरुले नयाँ दल दर्ता गर्न लागेपछि एमालेले १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुखले त्यसलाई प्रक्रिया अगाडि नबढाई ‘विचाराधीन’ अवस्थामा राखेपछि सभामुखको यो भूमिकाप्रति एमालेले आपत्ति जनाउँदै आएको थियो ।