Wed May 18 2022
देश

मनसुनी वायुको प्रभावले अझै दुई दिन वर्षा हुने

काठमाडौं । मनसुनी वायुको प्रभावले अझै दुई दिनसम्म देशका अधिकांश भू–भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मनसुन सक्रिय भएसँगै बिहीबारदेखि जारी वर्षा कम्तीमा सोमबारसम्म कायमै रहने मौसमविद् प्रतीभा मानन्धरले जानकारी दिनुभयो ।

तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने मानन्धरको भनाइ छ । दुई दिनयता यो वर्षकै धेरै वर्षा मापन गरिएको मौसमविद्ले जनाएका छन् ।

सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । त्यहाँको वर्षा मापन केन्द्रमा ४३४.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

यस्तै रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ ।

ती क्षेत्रमा डुबानको पनि समस्या देखिएको छ । आज पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी सम्भावना रहेको महाशाखाले जनाएको छ ।

निरन्तर वर्षा भइरहने भएकाले तटीय क्षेत्रमा बाढी तथा डुबानको खतरा रहेको एवं पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।