Thu May 19 2022
देश

कपिलबस्तुमा वाणगंगा खानेपानीले आफ्नो क्षमता विस्तार गर्दै

ओम प्रकाश पौडेल, कपिलबस्तु । वाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति नन्दनगर कपिलबस्तुले आफ्नो क्षमता विस्तार शुरु गर्न थालेको छ ।

२०६३ साल देखि निरन्तर रुपमा आफ्ना उपभोक्ताहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराएको खानेपानीले उपभोक्ताको चापलाई मध्यनजर गर्दै थप दुई वटा ओभर हेड ट्यांकी निर्माण गर्दै क्षमता विस्तारको योजना अघि सारेको हो ।

१ लाख लिटर क्षमताको ओभरहेड ट्यांकीबाट स्वच्छ पिउने पानी वितरण गरिरहेको वाणगंगा खानेपानीले उपभोक्ता संख्यामा वृद्धि भए संगै त्यस्को चाप थेग्न थप दुई ओभरहेड ट्यांकी निर्माण गर्ने योजना अगाडी सारेको छ ।

हाल दैनिक १९ घण्टा ९१ किलोमिटर पाइपलाईन मार्फत २३६९ घरमा पानी वितरण भएकोमा उपभोक्ताको मागलाई मध्यनजर गर्दै नन्दनगर र बैजलपुरमा १।१ वटा साढे चार लाख लिटरका ओभरहेड पानी ट्यांकी निमार्ण गर्न गइरहेको कोषाध्यक्ष ओम बहादुर न्यौपानेले जानकारी दिए ।

संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल मार्फत झण्डै २५ करोड लगानीमा थप दुई वटा ओभरहेड ट्यांकी निर्माण हुन गइरहेको अध्यक्ष विश्व कार्कीले बताए ।

खानेपानी मार्फत ११ टोलमा ११ वटा सरसफाई समिति निर्माण गरि सरसफाईका काम सञ्चालन भएका छन् ।

पिपरा कलौनी चोकमा सार्वजनिक सौचालय निर्माण भएको छ भने टोल टोलका चोक चोकमा सार्वजनिक सौचालय निर्माण गर्ने योजना रहेको समितिका उपाध्यक्ष राधिका भटराईको भनाई छ ।

बाटो विस्तारका क्रममा र किसानका खेत जोत्दा पटक पटक जेसिवि र ट्याक्टरले पाइपलाईन काट्दिनु, पिउने बाहेकका प्रयोजनमा पनि पिउने पानीको प्रयोग हुनु, पटक पटक हुने विद्युत कटौती,

ठाउँठाउँमा चेक भल्बहरु नहूँदा एक ठाउँमा विग्रिए पुरै वितरण प्रणाली नै बन्द गर्ने अवस्था हुनु, पानीमा अलि अलि चुन देखिनु लगायतका समस्याले बेला बेलामा सताउने गरेका छन् ।

संस्थापक अध्यक्ष अमर बहादुर थापाले देखेको स्वच्छ पिउने पानी वितरण गर्ने सपना साकार पार्न हालका सचिव निर्मला केसि, सहसचिव हीमलाल अधिकारी, सदस्यहरु खुमानन्द घिमिरे, लिला घिमिरे, किरणसिंह राना, हरिलाल घिमिरे, पवित्रा न्यौपाने, मलाई थारु प्रेम सागर थारु पर्वती घिमिरे, अनुगमन समिति संयोजक दयाराम पौडेल, लेखा समिति संयोजक विनायक बञ्जाडे व्यवस्थापक अनिमा खरेलले लगायत कम्मर कँसेर लागेका छन् ।

आम मानिसलाइ स्वच्छ पिउने पानी उपलब्ध गराई स्वस्थ नागरिक तयार गर्न सकारात्मक भुमिका निर्वाहा गरिरहेका यस्ता संस्थाहरुका समस्या समाधानमा राज्यको तत्कालै ध्यान जान जरुरी छ ।