Sat May 21 2022
देश

सबै नेपालीले अफगानिस्तान छाडिसक्ने सरकारी भनाइ, मंगलबार स्वदेश फर्कन नसकेकाहरु अन्य मुलुकमा बस्ने

समीर जोशी, काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएका छन् । योसँगै अफगानिस्तानमा २० वर्षसम्म चलेको सैन्य मिसन पनि अन्त्य भएको छ । त्

यहाँ रहेका नेपालीहरुले पनि आज मध्यरातिसम्म अफगानिस्तान छाड्ने भएका छन् । करिब २० वर्ष लामो लम्बेतान अमेरिका तालिवान युद्धको अन्त्य भएको छ ।

सन् २००१ सेप्टेम्बर ११ का दिन पेन्टागन आक्रमणको विषय लिएर अमेरिकाले २० वर्ष अफगानमा तालिवान विरुद्ध युद्ध लड्यो । २० वर्षे लम्बेतान युद्धमा ३५ सय बढी विदेशी सेनाको मृत्यु भएको छ ।

यीमध्ये २३ सय अमेरिकी सेना नै मारिएका थिए भने २० हजार अमेरिकी सेना घाइते भएका थिए । अमेरिकाले पछिल्ला केही हप्तामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको सेना फिर्ती अभियानको सुपरीवेक्षण गरेका जनरल फ्रयाङ्क मकेन्जीले बताएका छन ।

गएको अगस्ट १४ मा तालिबानले काबुल नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक र सेनाको उद्धारका लागि अमेरिकालगायतका देशले आज अगस्ट ३१ सम्म अफगानिस्तान छाड्न दिएको समयसीमा आज सकिदै छ ।

अमेरिकासहितका विदेशी फौज र विदेशी नागरिकले सोमबार नै अफगानिस्तान छाडिसकेका छन् । त्यहाँ रहेका २ सय हाराहारी नेपाली भने अझै पनि उद्धारको पर्खाइमा छन् । उनीहरुले मंगलबार अफगानिस्तान छाडिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलका अनुसार नेपाल आउन सक्ने मंगलबार नेपाल आउने छन् भने कतिपय नेपालीहरु अन्य मुलुकमा गएर बस्ने छन् । त्यसपछि उनीहरुलाई नियमित उद्धार गरेर नेपाल ल्याउने तयारी छ ।

अफगानिस्तनाबाट सोमबारसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँच जना फर्किएका थिए ।

स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरि आवश्यक व्यवस्थापन गरिएको छ ।

मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।