जोडिनुहोस
  • होमपेज
  • भक्तपुरमा बिस्का जात्रा आज सुरु हुँदै

भक्तपुरमा बिस्का जात्रा आज सुरु हुँदै

काठमाडौं : भक्तपुरमा आठ रात नौ दिन मनाइने बिस्का (बिस्केट) जात्रा सोमबार सुरु हुँदैछ। साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिन्छ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्रांगणबाट माथिल्लो (थने)  र तल्लो (क्वने) टोलका बासिन्दाले तानातान गर्दै जात्राको शुरुवात गर्छन्। रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार, निशान राख्ने विधान छ। रथको अगाडि पाँच र पछाडि चार वटा डोरी समातेर जात्रालुले तान्छन्।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ। त्यसैगरी पहिले क्वनेतर्फ तानेर लानसके टेखापुखुसम्म ल्याउने र त्यहाँबाट पुनः टौमढी हुँदै दत्तात्रेय पुर्‍याएर त्यहाँबाट फर्काई गःहिटीमा रथ पुर्‍याउने चलन छ।

जात्रामा रथ तान्ने परम्परागत रुट क्वनेतर्फ टौमढी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल) तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रेयसम्म लग्निन्छ। र

तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ। उक्त बलिपुजाको मासु प्रसादका रूपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ।

जात्राकोे चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं (हात नभएको लिंगो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिंगो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ।

लिंगो उभ्याउने जात्रा अर्को आकर्षण हो। पुरानो वर्ष विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिंगो उभ्याउने गरिन्छ। लिंगोको कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने मान्यता छ। लिंगो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्टमातृकाको प्रतीक मानिन्छ। लिंगो उभ्याउने क्रममा नवदुर्गा देवगण उपस्थित हुन्छन्।

लिंगो उठाउनुभन्दा अघि खौमास्थित इन्द्रायणी देवीको त्वारिवा जात्रा र तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ। यी दुई जात्रा सकेर त्यहाँको विशेष प्रसाद लिंगो उठाउने ठाउँमा लगिन्छ।

लिंगो उठाएको हेर्नाले शत्रुहरु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई ‘शत्रुहन्ता जात्रा’ पनि भनिन्छ। यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिंगो उभ्याउने स्थानमा पुर्‍याइन्छ। लिंगो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ।

बिस्का जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन लिंगो ढालिन्छ। त्यसको लगतै खँला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइन्छ। यसलाई स्थानीय भाषमा द्यः ल्वाकिगु जात्रा भनिन्छ। साँझपख दुमाजु देवीको जात्रा समेत गरिन्छ। जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाले तानातान गर्छन्।

आठौं दिन वैशाख ४ गते ‘द्य स्वंग व्य्यु’ जात्रा हुन्छ। यो दिन भक्तपुरबासीले परम्परागत भेषभूषामा सजिएर बाजागाजासहित नगरका ६० भन्दा बढी देवी देवतालाई गच्छेअनुसारका पक्वान्न, फलफूल र पैसा चढाउँछन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका