Mon Jul 4 2022
देश

सर्लाहामा निर्माणाधीन शहीद पार्कको पर्खाल भत्कियो

शंखर पहाडी सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका २ हजरियामा निर्माणाधीन अवस्थामा रहेको शहीद पार्कको पर्खाल भत्किएको छ ।

बरहथवा नगरपालिकाले शहीद पार्क निर्माण गर्न आन्तरिक स्रोतबाट आर्थिक वर्ष २०७७÷०७८ मा जन श्रमदान सहित ३६ लाख रुपैया बजेट छुट्टयाएको थियो ।

सर्लाहीको बरहथवा नगरपालिकाले ३६ लाख रुपैया लागतमा निर्माण गरेको शहीद पार्कको पर्खाल भत्किएको छ । वैशाख अन्तिम साता नगरपालिकाले उपभोक्ता समिति मार्फत शहीद पार्कको पर्खाल निर्माण सुरु गरेको थियो ।

नगरपालिकाले उपभोक्ता समितिलाई पर्खाल निर्माण गर्ने जमिन कमजोर भएकोले जग मजवुत बनाउन भनेको भएपनि त्यसो हुन नसकेका कारण भत्किएको नगरपालिकाले जनाएको छ ।

प्राविधिक इस्टमेट विपरित पर्खाल निर्माण गरिँदा पर्खाल भत्कीएको तर पर्खाल निर्माणका लागि छुट्याइएको रकम वडाको नभएको र वडासँग कुनै समन्वय नगरि काम भएकाले त्यसबारे आफूलाई कुनै जानकारी नरहेको पार्क निर्माण भैरहेको वडा कार्यालयले बताएको छ ।

साविक हजरिया गाविसको खेल मैदान नजिकै विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका नगरभित्रका शहीदहरूको सम्झनामा शालिक निर्माण गर्ने गरी पार्कको निर्माण भैरहेको हो । स्थानीयहरुले भने पर्खाल निर्माण गर्दा गुणस्तरहीन सामाग्री प्रयोग भएको आरोप लगाएका छन ।

पार्कको कम्पाउण्ड वाल निर्माणका लागि आन्तरिक स्रोत तर्फबाट जनश्रमदान सहित ३६ लाख रुपैयामा स्थानिय उपभोक्ता समिति र वडा अध्यक्षले रेखदेख गर्ने गरी निर्माणको काम भएको भएपनि वस्तुस्थिती अनुसार इन्जीनियरले स्टमेट नवनाएको, अनुगमन गर्दा जगदेखि नै समस्या रहेको साथै भारि वर्षाका कारण सो पर्खाल भत्कीएको र सार्वजनिक खरिद नियम अनुसार उपभोक्ता समिति वा निर्माण व्यावसायीले निर्माण गरेको काम एक वर्ष सम्म कुनैसमस्या आएमा त्यसको भरण गर्ने व्यावस्था रहेको र सोही अनुसार काम हुने नगरपालिकाकाले जनाएको छ ।

पर्खाल निर्माण गरि प्लाष्टर गर्ने क्रममा माटो भरेको र सोही समयमा पानी परेका कारण माटो धसिएर वाल भत्किएको उपभोक्ता समितिको भनाइ रहेको छ । भत्किएको पर्खाल पुननिर्माण गर्ने समेत उपभोक्ता समतिले जनाएको छ ।

नगरपालिकाले निर्माणाधिन अवस्थामै सबै रकम भुक्तानी दिनु,प्राविधि स्टमेट भन्दा बाहिर गएर काम गर्नु गराउनु र नगरपालिका लगायत सरोकारवाला निकाय निर्माण उपभोक्ता समितिलाई जोगाउन तिर लाग्नुलेपनि निर्माण कार्य गुणस्तरहिन भएको आशंका गर्ने ठाउँ रहेको छ ।