Sun May 22 2022
देश

हेटौँडाको युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरी थप कारबाही प्रक्रिया सुरु

हेटौँडा । हेटौँडास्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरी थप कारबाही प्रक्रिया सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुगमन टोलीले गरेको अनुगमनका क्रममा उक्त कम्पनीमा म्याद गुज्रिएको चिया फेला पारेपछि स्थानीय प्रशासनले शुक्रवार युनिलिभरको चिया प्लान्ट सिल गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अनुसार उक्त कम्पनीमा म्याद गुज्रेका तथा विवरण स्पष्ट नभएका करिब ३० किलोग्रामका ९२० बोरा चिया फेला परेको थियो ।

फेला परेको चियाको नमूना सङ्कलन गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ ।