Wed May 18 2022
देश

गण्डकी प्रदेशमा बाढी पहिरोबाट ३३ जनाको मृत्यु, ४४ जना घाइते

कास्की । मनसुनी वर्षा सुरु भएसँगै गण्डकी प्रदेशमा बाढी पहिरोबाट ३३ जनाले ज्यान गुमाएका छन् । भने बाढी पहिरोबाट ४४ जना घाइते भएको छन् ।

मृत्यु भएकामध्ये १३ जना पुरुष र २० जना महिला छन् । गण्डकीका ११ जिल्लामध्ये ९ जिल्ला बाढी पहिरोबाट बढी प्रभावित भएसँगै अर्बौंको भौतिक संरचनामा क्षति भएको छ ।

ती जिल्लामा पछिल्लो २ महिनाको अवधिमा ३३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीका अनुसार मृतक ३३ मध्ये भदौ महिनामा मात्र २२ जनाको मृत्यु भएको हो ।

प्रदेशमा बाढी पहिरोबाट सबैभन्दा बढी प्रभावित पर्वत जिल्लामा भएको छ । पर्वत पर्वतमा वर्षाको यो सिजनमा बाढी पहिरोबाट १३ जनाको मृत्यु भएको छ ।

यस्तै कास्कीमा बाढीपहिरोमा परी १० जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

यस्तै, नवलपरासी पूर्वमा तीन जनाको मृत्यु भएको छ । भने भौतिक संरचना बगाउँदा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ ।

गोरखामा बाढीपहिरोले २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । तनहुँमा बढीपहिरोमा परेर २ जनाको मृत्यु र ११ जना घाइते भएका छन । म्याग्दीमा बाढी पहिरोबाट २ जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।

त्यसैगरी, स्याङ्जामा बाढीपहिरोबाट एक जनाको मृत्यु र ४ जना घाइते भएका छन् । बाढीपहिरोमा परेर बागलुङ र पर्वतमा एक–एक जना बेपत्ता भएका छन् ।