काठमाडौँ– मनसुनी वायुको प्रभाव कायमै रहेको हुँदा मुलुकका विभिन्न स्थानमा आज पनि वर्षा जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार रातिको जस्तो भारी वर्षा नभए पनि ठाउँठाउँमा निरन्तर वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश-२ बाहेक सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
मौसविद् निराजन सापकोटाका अनुसार आइतबार अघिसम्म वर्षा रोकिने सम्भावना कम छ । शनिबार साँझसम्म अधिकांश समय वर्षा हुने तथा दिउँसो केहीबेर रोकिने क्रम चलिरहने उनले बताए । आइतबार बिहानदेखि मौसम क्रमिक सुधार हुने उनको भनाइ छ ।
भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन पनि महाशाखाले आह्वान गरेको छ ।
केही दिनदेखिको झरीले गलेको जमिन सामान्य पानी पर्दा पनि पहिरो जाने र गेग्रान बग्ने सम्भावना भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिमका धेरै र बाकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७८ भाद्र २३ गते (बुधबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७८ भाद्र २४ गते (बिहिबार)
दिउँसो: देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा र अन्य प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।