Wed May 18 2022
देश

यसरी भयो म्याग्दीको भगवती कोत मन्दिरको पुनर्निर्माण

सन्तोष गौतम, म्याग्दी । म्याग्दीका ऐतिहासिक कोत मन्दिरहरुको पुनःनिर्माण, संरक्षण र प्रर्वद्धनका गतिबिधी हुन थालेका छन् ।

धवलागिरी गाउँपालिकाको ताकमकोत र रघुगंगा गाउँपालिकाको भगवति कोत मन्दिर पुननिर्माण, बेनी नगरपालिकाको ज्यामरुककोत र ढोलथान दरबार क्षेत्रमा पूर्बाधार निर्माण भएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा रहेको १७औँै शताब्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माण भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागले जिर्ण बनेको मन्दिरको पुरा नै स्वरुपलाई जोगाउने र भुकम्प प्रतिरोधी बनाउने गरि पुनःनिर्माण गरेको हो ।

बिभागसँग २०७७ फागुन २३ गते ६९ लाख ३० हजार ५६६ रुपैयाँमा ठेक्का सम्झौता गरेको मिलिजुली–किवेष्ट जेभीले करिब पाँच महिनामा मन्दिर पुननिर्माण सरेर फर्किएका हुन् ।

भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरि ढुंगा र काठकै सामग्री प्रयोग गरेका छन् । पुरानै शैलीमा निर्माण भएको मन्दिरमा सिमेन्ट र रडको प्रयोग गरिएको छैन्् ।

बाइसे चौबिसे राज्यका पालामा १७औँ शताब्दीमा निर्माण भएको भगवतिमा मन्दिरको पर्खाल निर्माणमा चुना, सुर्की, गिट्टी र बालुवा प्रयोग भएको छ । स्लेट ढुङ्गाले छानो छाइएको छ ।

चैते र बडा दशैँको अवसरमा विषेश पुजा हुने हुने भगवति कोतमा अन्य समयमा दैनिक नृत्य पुजा हुन्छ । शक्तिपिठ मानिने भगवति कोतमा बडादशैमा बली चढाउने चलन छ ।

तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिदै आएको यो मन्दिरको ईतिहास नेपाल एकीकरण हुनुअघिको तत्कालीन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७औँ शताब्दीका बाईसे चौबिसे राज्यका राजाहरुसंग जोडिएको इतिहास छ ।

जिल्ला सदरमुकाम बेनीदेखि ४ कोष उत्तरमा कालिगण्डकी र रघुगंगा नदीको दोभानको शिरमा रहेको भगवति कोतमन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ ।

धौलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिर परिसरबाट कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोट संगै अन्नपुर्ण र निलगिरी हिमाललाई नजिकबाट नियाल्न सकिन्छ ।

यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहाँसिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न सके बाह्य पर्यटक समेत आकर्षित गर्न सकिने कतिपयको मत छ ।