Mon Jul 4 2022
देश

सुनकोसी र इन्द्रावती नदीमा आएको बाढीले काभ्रेका दुई ठूला खानेपानी आयोजनामा क्षति

प्रदिप भण्डारी, काभ्रेपलाञ्चोक । सुनकोसी र इन्द्रावती नदीमा आएको बाढीले काभ्रेका दुई ठूला खानेपानी आयोजनामा क्षति पु¥याएको छ ।

मेलम्ची हुँदै इन्द्रावती नदीमा गत असार १ गतेपछि आएका पटकपटकका बाढीले पाँचखाल बृहत शहरी खानेपानी तथा सरसफाई आयोजना र तेमाल बृहत सुख्खा–क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा ठूलो क्षति पु¥याएको हो ।

लिफ्टिङ प्रविधिबाट घरघरमा पानी पु¥याइएको काभ्रेको पाँचखाल खानेपानीको मुहान र तेमाल खानेपानीको मुहान सुनकोशी नदी किनारमा छन् ।

यस वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका वडा नं २ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेंसीमा कटान शुरु गरेको थियो ।

पाँचखाल खानेपानीको भुम्लु गाउँपालिका–१० बिमिरेस्थित मुहानमा ठुलोमात्रामा क्षति भएको छ । तेमाल खानेपानी आयोजनाको लिफ्टिङ गरेपछि बाढी आएको कारण ५० लाख भन्दा बढीको क्षति भएको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बतउँछन् ।

विसं २०७२ असारमा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए थियो । तर कोरोना भाइरसको महामारीले कामको निरन्तरता नहुँदा दुवै आयोजनाको काम केही धकेलिएको थियो ।

बाढीले क्षति पु¥याएको पुनःनिर्माण गर्दा केही समय अझै धकेलिने लामाले बताए । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजार व्यक्तिका लागि खानेपानी आयोजना सञ्चालन गरिएको थियो ।

खानेपानी विभागमार्फत एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताको नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले बताएका छन् ।

जिल्ला प्रशासन काभ्रेका प्रमुख शिवराम पोखरेलका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाईमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ ।

यस्तै इन्द्रावती नदीको पहिलो र त्यसपछिका बाढीले पाँचखाल खानेपानी आयोजनाको मुहानमा निर्माणाधीन संरचनामा दुई करोडभन्दा बढीको क्षति पुगेको पोखरेल बताउँछन् ।

भुम्लु गाउँपालिका–१० बिमिरेमा रहेको पाँचखाल खानेपानी आयोजनाको मुहानका सबै संरचना पनि ध्वस्त भएको छ । उपभोक्ता समितिका अध्यक्ष कुमार लामछिानेका अनुसार मुहानको इन्टेक, २० ठूला पम्प, प्यानल बोर्ड, पाइप तथा प्रोटेक्सन वालमा क्षति पुगेको छ ।

साउन महिनाभित्र मुहान क्षेत्रको काम सम्पन्न गर्ने लक्ष्य लिइएकोमा अब यो काम केही समय पर धकेलिएको छ । बाढीका कारण मुहान क्षेत्रका दुई करोडभन्दा बढीका संरचनामा क्षति पुगेको छ ।

पाँचखालका १० वडाका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा छ । परियोजनाको २०७६ भदौ १२ गते त्रिपक्षीय सम्झौता भएको हो ।

यो खानेपानी आयोजना दुई अर्ब २१ करोडको लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको थियो ।

तर बाढीले आयोजनाका संरचना नै ध्वस्त पारेपछि खानेपानी कहिले जनताका घरघरमा पुग्ला भन्ने अनिश्चय छाएको छ ।