Wed May 18 2022
देश

राष्ट्रियतामाथि हमला भइरहेको विप्लव नेतृत्वको नेकपाको निष्कर्ष

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको मु्द्दाले फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाएका छन ।

उनले सबै नेपाली नागरिकहरु यसविरुद्ध आन्दोलित भइरहेको बेलामा पनि यसलाई पास गर्नुपर्ने भनिरहेकोप्रति आपत्ति जनाउनु भयो ।

प्रवक्ता विश्वकर्माले विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको भन्दै यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीलाई स्वीकार्य नहुने बताए ।

सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रिकृत रुपमा नेतृत्व प्रदान गर्न एक हप्ते संघर्षको कार्यक्रम राखेको बताउँदै उनले भाद्र २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै आन्तरिक शंकटबाट ग्रस्त भएपछि बनेको र यसको आयु ६ महिना वा एक वर्षको हो भन्ने कुनै ठेगान नरहेको बताए ।

उनले सरकारले राष्ट्रघाती एमसीसी पास गरेर कुनै मुर्खता नगरोस् भन्ने चाहेको बताए ।

प्रवक्ता विश्वकर्माले सरकारले यदी मुर्खता नै गरिरहे देशमा आगो लाग्ने चेतावनी दिए ।