Sun May 22 2022
देश

कांग्रेस महाधिवेशनः प्रत्यक्ष र समानुपातिक गरी ४,१२५ जना महाधिवेशन प्रतिनिधि चुनिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रत्यक्ष र समानुपातिक गरी ४ हजार एक सय २५ जना महाधिवेशन प्रतिनिधि चुनिने भएका छन् ।

देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले प्रत्यक्ष र समानुपातिक गरी ४ हजार एक सय २५ जना महाधिवेशन प्रतिनिधि चुनिने भएका हुन् ।

कांग्रेसको विधानअनुसार यसपालि प्रत्यक्षतर्फ २ हजार चार सय ७५ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् । जुन कुल महाधिवेशन प्रतिनिधिको ६० प्रतिशत हो ।

समानुपातिकतर्फ १ हजार ५ सय महाधिवेशन प्रतिनिधि चुनिनेछन् । जुन ४० प्रतिशत हो ।

समानुपातिकमा सबैभन्दा धेरै खसरआर्य समुदायबाट महाधिवेशन प्रतिनिधि ५ सय २७ जना आउने कांग्रेसले जनाएको छ ।

समानुपातिकबाट आएका कूल महाधिवेशन प्रतिनिधिमध्ये खसरआर्यबाट ३१.९ प्रतिशत, आदिवासी जनजातिबाट ३०.२ प्रतिशतले हुन आउने ४ सय ९८ जना, दलितबाट २ सय ३२ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् । जुन १४.१ प्रतिशत प्रतिनिधित्व हुन्छ ।

मधेशी समुदायबाट २ सय २७ जना, १३.८ प्रतिशत, थारू समुदायबाट ९४ जना, ५.७ प्रतिशतले, मुस्लिम समुदायबाट ७२ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् । जुन ४.४ प्रतिशत हुन आउँछ ।

महिला महाधिवेशन प्रतिनिधिको संख्या १ हजार ३ सय ४ जना हुने कांग्रेसले जनाएको छ । जुन ३१.६ प्रतिशत हो । त्यसमा पनि प्रत्यक्षतर्फ ६ सय ६० जना र समानुपातिक ६ सय ४४ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् । कांग्रेसको विधानमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने उल्लेख छ ।

कांग्रेसले टोलदेखि केन्द्रीय महाधिवेशनसम्म ८ तहमा अधिवेशन गर्दै आइरहेको छ । केन्द्रीय महाधिवेशन आगामी ९–१३ मंसिरमा हुने कार्यतालिका छ ।