अमृतराज काफ्ले, काठमाडौं । नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेपछि आगामी २९ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसदमै नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।
सभामुख अग्नि सापकोटाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेको भएपनि एमाले संसद अवरुद्ध गर्ने निर्णयबाट पछि नहटेपछि बैठक स्थगित गरिएको हो ।
सभामुख सापकोटाले भोलि दिउँसाको लागि सर्वदलीय बैठक आह्वान समेत गरेका छन् ।
माधवकुमार नेपालसहितका १४ सांसदलाई एमालेले कारबाही गरेको जानकारी नगराएको भन्दै एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।
आइतबारको बैठकमा समेत एमाले सांसदहरुले बैठक शुरु हुनासाथ अवरोध गरेका थिए । पहिलो बैठक अवरुद्ध गरेका एमाले सांसदहरुले यसअघिका बैठकमा भन्दा सालिन देखिएका थिए ।
सभामुखविरुद्ध निरन्तर नारावाजी भएपछि १५ मिनेटका लागि स्थगित भएर दोस्रोपटक बैठक बसेको भएपनि एमालेको अवरोधका कारण दोस्रो बैठक समेत अघि बढ्न सकेन ।
दोस्रोपटक पनि संसद सूचारु हुन नसकेपछि भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुखले एमाले विभाजन गर्न षड्यन्त्रपुर्ण तरिकाले काम गरेको आरोप एमालेले लगाएको छ ।
एमालेले सभामुख अग्नि सापकोटाले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको कारबाहीको सूचना प्रकाशन नगर्दासम्म संसद चल्न नदिने समेत बताएको छ ।
सभामुख सापकोटाले भने सोमबार बस्नेगरी सवंदलीय बैठक आह्वान गरेका छन् । संसदमा एमालेको निरन्तर विरोध कायमै रहेका बेला सभामुख सापकोटाले त्यसकै बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् ।