अमेरिकाविरुद्ध नेपाल पाँच विकेटले विजयी, आज ओमानसँग भिड्दै 

अमेरिकाविरुद्ध नेपाल पाँच विकेटले विजयी, आज ओमानसँग भिड्दै 
मङ्लबार, भदौ २९, २०७८

काठमाडौँ–  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्‍यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । आसिफ २३ रनमा आउट भए ।

यस्तै रोहित कुमार पौडेलले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । विनोद भण्डारी ३७ रनमा आउट भए । करण केसी १ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १७ तथा कुशल मल्ल १ रनमा आउट भए ।

अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले २/२ विकेट लिए । सौरभ नेत्रभाल्करले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले । यस्तै निसर्ग पटेलले २१ रन जोड्दा करिमा गोरेले १६ रन जोडे  संजय कृष्णमुर्थी र नोस्तुश केन्जिगेले समान १३/१३ रन जोडे भने जसकरण मल्होत्राले ११ रन बनाए । अभिषेक पराद्करले अविजित १३ र सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे।

नेपालका सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले २/२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए । जितसँगै नेपालले ५ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

अमेरिकाले १३ खेलमा १२ अंक जोडेको छ । अमेरिका दोस्रो स्थानमा रहेको छ ।

नेपालको जितका लागि महत्वपूर्ण पारी खेलेका कुशल भुर्तेल प्लेयर अफ दि म्याच घोषित भए ।

आज ओमानसँग प्रतिस्पर्धा

सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेलमा घरेलु टिम ओमानसँग खेल्दैछ । अल अमिरात क्रिकेट मैदानमा खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

घरेलु टिम ओमानविरुद्ध मैदान उत्रिदा नेपाल जितको लक्ष्यमा हुनेछ । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । ओमान लिग-२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १० खेलमा १६ अंक जोडेको छ ।

लिग-२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् । लिग-२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो ।

टियु क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५ मा भएको खेलमा नेपाललाई ओमानले १८ रनले हराएको थियो । त्यस्तै ९ फेब्रुअरीमा भएको दोस्रो भेटमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो ।

लिग-२ विश्वकप छनोटको एक रुप हो । लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग-२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।