संविधानमा उल्लेख भएपनि आमाको नामबाट नागरिकता पाउन समस्या

संविधानमा उल्लेख भएपनि आमाको नामबाट नागरिकता पाउन समस्या
बुधबार, भदौ ३०, २०७८

सन्तोष गौतम, म्याग्दी । संबिधानमा उल्लेख भएपनि ब्यवहारमा आमाको नामबाट नागरिकता बनाउन नागरिकले धेरै जटिलता ब्यहोर्नुपरेको छ ।

आमाको नामबाट नागरिकता नपाउँदा म्याग्दीका तीन जना युवा युवती सबै किसिमका अवसरबाट बञ्चित भएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–७ का यास्मीन बेगम, समिर खान र सेनाज बेगम आमाको नामबाट नागरिकता नपाउँदा समस्यामा परेका छन् ।

पढाईमा अब्बल उनिहरु भनेको बिषय लिएर उच्च शिक्षा, ब्यापार ब्यवसाय, बैदेशिक रोजगार, बैकिङ लगायतका क्षेत्रमा अवसरबाट बञ्चित भएका हुन् ।

कानुनले मागे जति सबै कागजात, प्रमाण र प्रक्रिया पुरा गरेर दश वर्षदेखि तत्कालीन गाबिस, हालको वडा, नगरपालिका, जिल्ला प्रशासन, नेता, गृहमन्त्रालय र मन्त्रीकहाँ धाउदाँ पनि आमाको नामबाट नागरिकता नपाएको उनिहरुले गुनासो गरेका छन् ।

उनिहरुका आमा बेनीकी मनिरजा बेगम र बुवा भारतको कलकत्ताका सलिम खानबीच तीस बर्षअघि बिवाह भएको थियो ।

मनिरजासँग बिवाह गरेपछि बेनीमै बसेर शृङगार ब्यवसाय गर्दै आएका सलिमले भारतको नागरिकता त्यागेर बि.स. २०५२ र २०६४ मा नेपालमा भएको निर्वाचनमा मतदान पनि गरेका थिए ।

मनिरजा र सलिमको सबै सन्तानको तत्कालीन अर्थुङ्गे गाबिसमा जन्मदर्ता भएको छ । मनिरजाले बुवा अनरुल्ला खानको नामबाट जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट बंशजको नागरिकता लिएका थिए ।

बिदेशी नागरिकसँग बिवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको हकमा आमाको नागरिकता, नेपालमा जन्म भई स्थायी बसोबास गरेको ब्यहोरा खुल्ने सम्बन्धित स्थानीय निकायको सिफारिस, बाबुको नागरिकताको आधारमा निजले बिदेशी मुलुकको नागरिकता नलिएको निस्सा पेश गरेमा प्रशासनबाट अंङ्गीकृत नागरिकता पाउने उल्लेख छ ।

कानुनमा भएको ब्यवस्था अनुसार आवश्यक सबै कागजात र प्रमाण जुटाएकाले वडाले नागरिकताको सिफारिस गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले बिदेशी बुवा भएका नेपाली आमाका सन्तानको हकमा संबिधानमा भएको ब्यवस्था अनुसारको कानुन नबन्दा उनिहरुलाई नागरिकता नदिएको जनाएको छ ।

उनिहरुका बुवाको अङ्गिकृत नागरिकताका लागि गृह मन्त्रालयमा गरेको प्रक्रिया पुरा भएपछि सजिलो हुने प्रशासनको भनाई छ ।

नागरिकताकै कारण समस्या वेहोर्नु परेको भन्दै उनिहरुले समस्याको समाधानका लागि पहल गरिदिन अनुरोध गरेका छन ।