प्रतिगामी र दक्षिणपन्थी शक्तिहरुको बोलाबाला कायमै रहेको माओवादी अध्यक्ष दाहालको दावी

प्रतिगामी र दक्षिणपन्थी शक्तिहरुको बोलाबाला कायमै रहेको माओवादी अध्यक्ष दाहालको दावी
बुधबार, भदौ ३०, २०७८

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन ।

राष्ट्रिय राजनीतिमा प्रतिगामी र दक्षिणपन्थी शक्तिहरुको बोलाबाला कायमै रहेको भन्दै अध्यक्ष दाहालले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई सडक संघर्षका लागि तत्पर रहन सचेत गराएका हुन ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले हालसम्म हाँसिल गरेको उपलब्धि युद्ध वा सडक संघर्षकै प्रतिफल भएको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि सडक संघर्षमा जानुपर्ने अवस्था आउनेतर्फ चिन्तनमनन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

नेता पोष्टबहादुर बोगटीको स्मृतिमा बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले बिकृत बुर्जुवा प्रणाली बदल्नका निम्ति पनि संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने तर्क समेत संकेत गरे ।

अध्यक्ष दाहालले संविधान संशोधनका लागि सकेसम्म राजनीतिक दलहरुसँगबीचको संवाद, सहमती र समझदारीलाई नै जोड दिने पनि स्पष्ट पारे ।

निर्वाचन प्रणाली, शासकीय स्वरुप र संघीयताका विषयमा संशोधन गरेर जाने बाटो संविधानले खुला गरेकाले आफूहरुले संविधान जारी गरेदेखि नै संविधान संशोधनको विषयलाई बढी जोड दिएर उठान गर्ने गरेको पनि स्मरण गराए ।

अध्यक्ष दाहालले आफू २ पटक प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि संसदमा प्रस्ताव लगेको पनि बताए । तर प्रतिगामी र दक्षिणपन्थी शक्तिहरुले सो प्रस्ताव संसदमा छलफल गर्न समेत नदिएको अध्यक्ष दाहालको गुनासो छ ।

अध्यक्ष दाहालले सडक आन्दोलनकै बलमा आफ्नो पार्टीको नेतृत्वमा प्रतिगमनबाट मुलुकलाई जोगाउने र संविधानको रक्षा गर्ने सफलता हात पारेको पनि बताए ।

उनले जनताको बलमा प्रतिगमन विरोधी कदमलाई पराजित गर्न सफल भएपनि हाल आएर पार्टी भित्र आफ्नो व्यक्तिगत स्वार्थ र पदका लागि मरिहत्ते गर्नेहरुको जमात बढ्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरे ।

पार्टी बनाउनेभन्दा गुट बनाउने धन्दा पनि पार्टी भित्रै देखिने अवस्था आएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यस्ता प्रवृत्तिकाविरुद्ध जुधेर मात्रै नेता पोष्टबहादुर बोगटीहरुले देश र जनताको मुक्तिका निम्ति देखेका सपनालाई पूरा गर्न सकिने पनि बताए ।

अध्यक्ष दाहालले नेपाल राष्ट्र र नेपाली जनताको रुपान्तरणमा नेता बोगटीले खेलेको भूमिका सदा स्मरणीय रहिरहने पनि बताए ।