Mon Jan 17 2022
मुख्य खबर

इन्द्रजात्राको दोस्रो दिन आज कुमारी रथयात्रा हुँदै

काठमाडौँ– काठमाण्डौको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको इन्द्रजात्राको आज दोस्रो दिन कुमारी रथयात्रा हुँदैछ ।

इन्द्रजात्राका अवसरमा राष्ट्रपतिबाट हनुमानढोकाको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । आज दिउँसो कुमारीको रथलाई काठमाण्डौको तल्लो क्षेत्र लगन, मरु, लगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ ।

कुमारीको रथसँगै लाखे, पुलुकिसी लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजा ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ढालेपछि इन्द्रजात्राका अवसरमा गरिने सबै धार्मिक गतिविधि पनि समापन गरिनेछ । त्यस्तै आज भक्तपुरमा सिद्धपोखरी मेला सुरु हुँदैछ। आज बेलुकीबाट सुरु हुने मेलामा वंशगोपाल चोकबाट आज राति वंशगोपालको मूर्तिलाई पोखरी राखेर नुहाइदिने गरिन्छ ।

त्यस्तै ललितुपर आज सुन्धारा लगायतको ठाउँमा महादेवको विशेष पूजा गरेर इन्द्रजात्रा मनाइँदै छ । पाटनको येँया पूर्णचण्डीमा भुजा राखेपछि समापन हुने गर्दछ ।