इन्द्रजात्राः राष्ट्रपति र प्रधानमन्त्री कुमारी यात्रा हेर्न बसन्तपुर

इन्द्रजात्राः राष्ट्रपति र प्रधानमन्त्री कुमारी यात्रा हेर्न बसन्तपुर
आइतवार, अशोज ३, २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा इन्द्रजात्राको अवसरमा आइतबार बसन्तपुरस्थित कुमारी यात्राको अवलोकन गरेका छन् ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा पर्वमा कुमारी यात्रा हेर्न राष्ट्रपति र प्रधानमन्त्री पुग्ने प्रचलन रहँदै आएको छ ।

इन्द्रजात्राको दिन हनुमानढोकास्थित गद्दी बैठकमा राजतन्त्र रहुञ्जेल राजाबाट गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

अहिले भने राष्ट्र प्रमुखका साथै सरकार प्रमुखको उपस्थिति रहने गरेको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुन्छ ।

यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।