संविधान दिवसः कतै खुसी त कतै विरोध

संविधान दिवसः कतै खुसी त कतै विरोध
आइतवार, अशोज ३, २०७८

काठमाडौं । आइतबार देशभर संविधान दिवस मनाइएको छ । कतै खुसीले त कतै विरोध गरेर संविधान दिवस मनाए ।

नागरिक समाजका अगुवाहरुले संविधान अपुरो भएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

आइतबार नागरिक समाजका अगुवाहरुले संविधान दिवसको दिन काठमाडौमा विरोध प्रदर्शन गर्दै नेपालको संविधान लेखेको प्लेकार्ड जलाएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले उनीहरुले ‘असोज ३ कालो दिन, असोज ३ अधुरो संविधानको प्रतिरोध दिन’ जस्ता प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

यस्तै, संविधानलाई सच्याउनुपर्ने माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आईतबार जनकपुरधाममा प्रदर्शन गरेको छ ।

संविधान जारी भएको असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै लोसपाका नेता/कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

२०७२ सालमा संविधान जारी भएपछि सरकारले प्रत्येक असोज ३ लाई संविधान दिवसका रुपमा मनाउँदै आएको छ ।

विरोध प्रदर्शनमा नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतको उपस्थिति रहेको थियो ।

काठमाडौंको टुँडिखेलमा सरकारले गरेको कार्यक्रममा नेपाली सेनाले मार्चपास गरेर संविधान दिवस मनाएको छ ।

६ वर्षअघि संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष संविधान दिवस बनाउँदै आएको छ ।

नेपालको संविधान विश्वकै सर्वोत्कृष्ट संविधान रहेको दाबी गरिदै आएको छ । तर संविधान अझै पनि सर्वस्विकार्य हुन नसकेको भन्दै संसोधनको माग समेत उठ्दै आएको छ ।