आईपीएल : चेन्नईद्वारा मुम्बई पराजित

आईपीएल : चेन्नईद्वारा मुम्बई पराजित
सोमवार, अशोज ४, २०७८

काठमाडौँ– इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स पराजित भएको छ।कोरोना महामारीका कारण स्थगित भएर लामो समयपछि सुरु भएको प्रतियोगिताको आइतबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बईलाई २० रनले पराजित गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो।

चेन्नईका रुतुराज गायकवाडले अविजित रहँदै ८८ रनको पारी खेलेका थिए। यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए।

मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २–२ विकेट लिएका थिए।

एक सय ५७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो।

मुम्बईका लागि सौरभ तिवारीले अविजित ५० रन बनाए। क्विन्टन डी ककले १७ रन जोड्दा अनमोलप्रित सिंहले १६ रन बनाए।
चेन्नईका ड्वाने ब्राभोले ३ तथा दिपक चाहरले २ विकेट लिए।