Wed Jan 19 2022
मुख्य खबर

कक्षा कोठा भवन जिर्ण हुँदा म्याग्दीमा पठनपाठनमा समस्या

सन्तोष गौतम

म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा रहेको जनजागृति माध्यमिक बिद्यालयको भवन जिर्ण बनेपछि पठनपाठन प्रभावित बनेको छ । जिर्ण भवनमा जोखिम मोलेर त्रासपुर्ण वातावरणमा पठनपाठन भैरहेको छ ।

भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने अल्पसंख्यक छन्त्याल समुदायको बाहूल्य बसोबास रहेको म्याग्दीको मल्कवाङ स्थित जनजागृति माबिको भवन जिर्ण बनेको छ । बीस बर्षभन्दा पुरानो ढुङ्गा, माटो र काठको प्रयोगबाट निर्माण भएको भवनको छानो प्वाल परेर कक्षा कोठामा पानी चुहिन्छ । बिद्यार्थीका झोला, कापी, किताब भिज्ने गरेको छ ।

हुरी चल्दा, पानी पर्दा जस्तापाताको आवाजले शिक्षकले पढाएको बिद्यार्थीले सुन्दैनन् र बुझ्दैनन् । कक्षा ६, ७ र ८ का बिद्यार्थी राखिएको तीन कोठे भवनको पर्खाल चर्कीएर भत्कने अवस्थामा छ ।

भिरालो पाखो सम्माएर फरक–फरक ठाउँमा बनाइएको जनजागृति माविका छ वटा मध्य दुई वटा कोठा मात्रै सुरक्षित छन् । खालडाडामा रहेको बिद्यालय स्थानान्तरणका लागि होपा खोला भन्ने ठाउँमा ८ रोपनी जग्गा खरिद गरेर ब्यवस्थापन र नयाँ भवन निर्माण सुरु भएको छ ।

हालै मात्र सडक पुगेको मल्कवाङमा यसअघि जग्गा, बजेट अभावका साथै लागत महँगो पर्ने भएकाले समुदायले बिद्यालय भवन निर्माणमा चासो देखाएका थिएनन् । होपाखोलामा गुड नेवर्स इन्टरनेशनलको सहयोगमा संगम म्याग्दी मार्फत सञ्चालित सामुदायिक बिकास परियोजना र धवलागिरी गाउँपालिकाको सहयोगमा दुई कोठे भवन निर्माण भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत थप चार कोठे भवन निर्माण भइरहेको छ ।

कक्षा १० सम्मको पठनपाठन हुने बिद्यालयमा हाल करिब दुई सय जना बिद्यार्थी छन् । कक्षा कोठाको भुई पानी पर्दा हिलाम्मे र सुख्खामा धुलाम्मे हुने गरेको छ । बिद्यालयका कच्चि भवनहरु बिक्रम सम्बत २०७२ को भूकम्पले जिर्ण बनाएको थियो । जिल्लाभर भूकम्पले जिर्ण बनाएका ८८ वटा बिद्यालयमा भवन निर्माण सकिएको छ ।

भूकम्प र बाढी, पहिरोका कारण जोखिममा परेका तथा जिर्ण परेका बिद्यालयहरुको पुननिर्माण, स्थानान्तरणको आवश्यकता देखिएको छ । गुणस्तरीय शिक्षाका लागि सुरक्षित ठाउँ र पुर्बाधारको ब्यवस्थापनमा सरोकारवालाहरुको ध्यान जानुपर्ने देखिन्छ ।