Thu Jan 27 2022
देश

लमजुङमा अवैध जडिबुटीसहित तीन जना पक्राउ

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जडिबुटीसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बेसीशहर नगरपालिका ७ बाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मर्स्याङ्दी गाँउपालिका ६ बस्ने वर्ष ४८ का आइतराम तामाङ, सोही स्थान घर भएका वर्ष ३७ का राम बहादुर तामाङ र सोही स्थान घर भएका वर्ष २४ का मिन बहादुर तामाङ रहेका छन् ।

शंकास्पद रुपमा झोला भिरेर हिडिरहेको अवस्थामा चेकजाँचका क्रममा उनीहरुको साथबाट पाँचऔले १५ किलो ५ सय ग्राम र निरमसी १३ किलो ४ सय ग्राम बरामद गरेको हो ।

२९ किलो जडिबुटिको रकम अनुमानित ५४ लाख रुपैयाँ रहेको प्रहरीको अनुमान छ । पक्राउ परेका ३ जनालाई मंगलबार नै कारबाहीका लागी डिभिजन बन कार्यालयमा बुझाइएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय लमजुङले पछिल्लो समय अवैध जडिवुटी ओसारपसारलाई नियन्त्रण गर्न विशेष योजना नै बनाएको छ ।